काठमाडाैं । देशका छुट्टाछुट्टै स्थानमा डुबेर २ जनाकाे मृत्यु भएकाे छ ।
महोत्तरीको लोहारपट्टी नगरपालिका-६ बस्ने रामबली मण्डलकी ९ वर्षीया छोरी राधिका कुमारी मण्डलको पानीमा डुबेर मृत्यु भएको छ ।
घुँगी मार्ने क्रममा डुबेर घाइते भएकी उनलाई प्राथमिक स्वास्थ्य केन्द्र लोहारपट्टी लगिएकामा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, झापाको गौरीगन्ज गाउँपालिका–३ तेलकानी बस्ने १७ वर्षीय मनिष श्रेष्ठको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ।
सोही ठाउँस्थित तल्लो तेलकानी भद्रमारी खोलामा बुधबार पौडी खेल्ने क्रममा डुबेर घाइते भएका उनलाई उपचारका लागि लाइफलाइन अस्पताल दमक लाने क्रममा बाटोमै मृत्यु भएको हो ।
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७