काठमाडौं । आजबाट बाहिरी जिल्लाबाट काठमाडाैं उपत्यका आउन र उपत्यकाबाट बाहिरन नपाइने भएकाे छ ।
गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्म उपत्यकाबाट बाहिरिने र भित्रिने सबै प्रकारका सवारी पास वितरण बन्द गर्ने निर्णय गरेकाे हाे ।
यसअघि सवारी पासका आधारमा आउन जान मिल्ने व्यवस्था गरिएको भए पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि पास खारेज गरेको हो । यसअघि पास लिएकाहरू पनि काठमाडाैं आउन पाउने छैनन् ।
काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमित बढेपछि उपत्यका भित्रिन कडाइ गरिएकाे जिल्ला प्रशासन कार्यालय काठमाडाैंले जनाएकाे छ ।
गृह मन्त्रालयले पास खारेज गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो । यससँगै उपत्यका मात्र नभई कुनै एक जिल्लाबाट अर्काे जिल्ला जान पनि नपाइने भएकाे छ ।
काठमाडाैं उपत्यकाकाे हकमा भने काठमाडाैं, भक्तपुर र ललितपुरलाई एकै जिल्ला मानिएकाे छ ।
पास वितरण बन्द गरिए पनि अत्यावश्यक सामान बोकेका सवारीसाधन र एम्बुलेन्स सञ्चालनमा भने राेक लगाइने छैन ।
यसैबीच काठमाडौं प्रशासनले पास बन्द गरेसँगै उपत्यका भित्रिने मुख्य राजमार्ग पृथ्वी राजमार्गमा कडाइ गरिएको छ । धादिङको सुरक्षा समिति बैठकले एम्बुलेन्स र अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई मात्रै चल्न दिने निर्णय गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी रूद्रबहादुर मल्लले अर्को व्यवस्था नभएसम्म पृथ्वी राजमार्गमा कडाइ गरिएको जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७