काठमाडाैं । साढे १५ किलो नक्कली सुन काण्डका मुख्य अभियुक्त भनिएका इल्ताफ हुसेन अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।
नक्कली सुन भारततर्फ सप्लाइ गर्ने क्रममा प्रहरीले फलो गरेपछि आधा किलो सुन र सुनको जलप लगाएको साढे १५ किलो चाँदीसहितको झोला छाडेर फरार भएका इल्ताफ पक्राउ परेका हुन् ।
उनलाई महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बाराबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम ज्ञवालीले जानकारी दिए ।
हुसेन नक्कली नोट प्रकरणमा यसअघि पनि पक्राउ परेका व्यक्ति हुन् ।
अन्सारीसँगै फरार रहेका भारतको गुजरातका सञ्जय पटेल भने अझै पक्राउ परेका छैनन् ।
साउन १३ गते बिहान सुन्धाराबाट प्रहरीको घुमुवा टोलीले पिछा गरेपछि अन्सारी, पटेल, निलेश सखियालगायतको गिरोहले भारत लैजान लागेको सुनचाँदी त्यहीँ छाडेर भागेका थिए ।
१४ गते मुख्य आरोपी निलेश सखिया, उनका सहयोगी विजय पटेल, कौशल पटेल र देवानसिंह पटेल पक्राउ परेका थिए । सोही अभियोगमा प्रहरीका २ घुमुवा प्रसन्न श्रेष्ठ, बहादुरसिंह कठायत र सुन लुकाउन सघाउने बागबजारका मोबाइल पसल सञ्चालक उमेश श्रेष्ठ पक्राउ परिसकेका छन् ।
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७