काठमाडाैं । नेपालका वायुसेवा सञ्चालकहरुले भदौ १६ गतेदेखि पनि आन्तरिक हवाइ उडान गर्न नपाए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बुधबार वायुसेवा सञ्चालक संघले विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएको हो । संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आन्तरिक हवाइ सेवा उद्योगलाई तत्कालै सञ्चालनमा नल्याउने हो भने सेवा नै बन्द हुन जाने भएकाले भदौ १६ देखि पुनः उडान सञ्चालन नभए आन्दोलन गर्न बाध्य हुने अवस्था सिर्जना हुने छ ।’
यसअघि भदौ १ गतेबाट हवाई सेवा सञ्चालन गर्ने भनिए पनि सरकार कोरोना संक्रमण वृद्धिका कारण भदौ १५ सम्म बन्द गर्ने निर्णय गरेकाे थियाे ।
संघले विश्वका सबै देशले आन्तरिक उडान गरिरहेको भन्दै नेपालमा पनि आन्तरिक उडान खोलिदिन आग्रह गरेको हो। उसले हवाइसेवा अत्यावश्यक सेवाअन्तर्गत पर्ने बताउँदै भदौ १ देखि नै कम्पनीहरु उडानको लागि पूर्ण तयार भए पनि प्रतिबन्ध लम्ब्याएकोमा दुःख व्यक्त गरेको छ ।
देशभर बाढीपहिरो, अशक्त, बिरामी, सुत्केरी लगायतको उद्धारका लागि नियमित उडान नहुँदा ठूलो असर परेको संघको दाबी छ ।
कोभिड-१९ महामारीका दौरान उडानलाई व्यवस्थित तुल्याउन डब्लुएचओ तथा आइकाओले निर्धारण गरेको मापदण्डलाई मध्यनजर गर्दै उडान संचालनका लागि सम्पूर्ण तयारी पुरा गरेको पनि हवाई सेवा सञ्चालकले जनाएका छ्न्।
प्रकाशित मिति: बुधबार, साउन २८, २०७७