काठमाडौँ । अक्टोबर र नोभेम्बरमा हुने भनिएका विश्वकप छनौटका खेलहरु स्थगित भएका छन् ।
कोरोना भाइरसको संक्रमणका कारण छनोट चरणका खेलहरु स्थगित गरेको एसियाली फुटबल महासंघ (एएफसी)ले जनाएको छ।
एएफसीले फिफासँगको सल्लाहमा कतारमा हुने २०२२ को विश्वकप र चीनमा हुने २०२३ को एशियन कपका छनौट खेल २०२१ मा हुने गरि अहिलेलाई स्थगित गरिएको जानकारी दिएको छ ।
विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले अब ३ खेल खेल्न बाँकी छ । यसअघि कोरोना भाइरसका कारण स्थगित भएको छनोट खेल एएफसीले आगामी अक्टोबर र नोभेम्बरमा गराउने प्रस्ताव गरेको थियो । स्थगित भएका खेल आगामी अक्टोबर ८ र १३ तारिख तथा नोभेम्बर १२ र १७ तारिखमा गराउने तय भएको थियो ।
दोस्रो चरणको छनोटअन्तर्गत नेपालले अब ३ खेल खेल्न बाँकी छ । ती सबै खेल नेपालले घरेलु मैदानमा खेल्ने छ । नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्ने छ । समूह बीमा रहेको नेपाल ५ खेलमध्ये एउटामा जित निकाल्दै ३ अंक जोडेर चौथो स्थानमा छ । नेपालले चाइनिज ताइपेईलाई हराएको थियो । अन्य चार खेलमा नेपाल पराजित भएको थियो ।
नेपालले विश्वकप छनौटको तयारीका लागि खेलाडीको प्रशिक्षण सुरु गर्न खेलाडी र अफिसियलहरुलाई क्वारेन्टाइनमा राखेर कोरोना परिक्षणका लागि स्व़ाब संकलन गरेको छ ।
प्रकाशित मिति: बुधबार, साउन २८, २०७७