काठमाडाैं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय उपकुलपति, रजिस्ट्रार र शिक्षाध्यक्षको कार्यालयमा तोडफोड गरेको छ।
नेविसंघले आफूहरूका मागमा त्रिवि पदाधिकारीले वार्ता नगरेको र उच्च अदालत पाटनमा नेविसंघ नेताविरूद्ध मुद्दा दर्ता गरेको विरोधमा मंगलबार त्रिविका ३ कार्यालय र उपकुलपतिको कार्यालयको गाडीमा तोडफोड गरेकाे हाे ।
बिहान १०–१५ जनाको समूहमा आएको युवाहरुको समूहले तोडफोड गरेको विश्वविद्यालयका प्रवक्ता सूर्य अधिकारीले बताए ।
त्रिविले आवश्यक तयारी बिना परीक्षा तालिका सार्वजनिक गरेको र विकल्प नखोजी परीक्षा रद्द गरेकाले आक्रोशित विद्यार्थीले तोडफोड गरेको नेविसंघ आरआरका सचिव अनुराग शाहले जानकारी दिए ।
‘कोरोना भाइरसको महामारीमा परीक्षाको तालिका सार्वजनिक गर्ने अनि तत्कालै परीक्षा रद्द भएको नोटिस निकालेर विद्यार्थीलाई मानसिक तनाव दिने काम गरेकाले हामीले त्रिविलाई विकल्प खोज्न आग्रह गरेका थियौं’, उनले भने, ‘जथाभावी नोटिस निकालेर विद्यार्थीको मनोविज्ञानमा असर पार्ने काम गरेकाले केही विद्यार्थी साथीहरु आक्रोशमा आउनु भएको हो ।’
तोडफोडबाट उपकुलपतिको कार्यालयको गाडी र कार्यालयका झ्यालका सीसा फुटेका छन् । उनले आफ्ना विद्यार्थीमाथि मुद्दा चलाएको विरोधमा त्रिविमाथि आक्रमण नगरिएको प्रष्ट पारेका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७