काठमाडाैं । प्रहरीले गोंगबु हत्याकाण्डमा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ ।
हत्या आरोपमा चितवनबाट पक्राउ परेकी कल्पना मुडभरी पाैडेललाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । प्रहरीले आरोपीबाट बरामद गरेका सामानसमेत सार्वजनिक गरेको छ ।
गत आइतबार दाङका कृष्णबहादुर बोहोराको हत्या गरिएको कोठामा डेरा गरी बस्ने कल्पना र उनकी १५ वर्षीया छोरीलाई चितवनबाट पक्राउ गरेको प्रहरीले जनाएको हो ।
कल्पनाले दहीमा ५ वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि अण्डकोषमा हम्मरले प्रहार गरेकाे खुलेकाे छ ।

प्रहरी स्राेतका अनुसार आफूमाथि यौन हिंसा भएकाले हत्या गर्न बाध्य भएको कल्पनाले बयान दिएकी छिन् । ‘आफूमाथि पटकपटक यौन हिंसा भएपछि सुरुमा अण्डकोषमा हानेँ, पछि खुकुरीले घाँटी र खुुट्टा काटेँ,’ बयानमा उनले भनेकी छिन् ।
काटिसकेपछि जिउ सुटकेसमा तथा खुुट्टा र टाउको जेब्रा झोलामा राखेर छुुट्टाछुुट्टै स्थानमा फालिएको थियो। शव मिल्काउन छोरीको सहयोग लिएको कल्पनाले बताएकी छिन् ।
हत्यामा संलग्न कल्पना कलाकार रहेका प्रहरीले जनाएकाे छ । उनले केही टेलिशृंखलामा अभिनय गरेकी छिन् ।

८ महिनादेखि होटलमा बस्दै आएका मृतक बोहराकाे कल्पनासँग फेसबुकमार्फत चिनाजान भएको प्रहरीले जनाएको छ ।
कल्पनाको श्रीमान भने विदेश गएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। घटनामा अन्य मानिसको संलग्नता नभएको महिलाले दाबी गरिरहे पनि प्रहरीले भने अन्यको संलग्नता रहे/नरहेकाेबारे अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७