काठमाडौँ । काठमाडौंको गोंगबुमा सुटकेशमा शव भेटिएका व्यक्तिकाे हत्यारा पत्ता लागेकाे प्रहरीले दाबी गरेकाे छ ।
दाङ घर भई हाल काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको हत्यामा कल्पना शाही नै मुख्य योजनाकार भएको निष्कर्ष प्रहरीले निकालेको हाे ।
पक्राउ परेकी कल्पना शाहीले प्रारम्भिक सोधपुछमा आफूले एक्लै हत्या गरेको बयान दिएकी छिन् । प्रहरीले कल्पनालाई सोमबार छाेरीसहित पक्राउ गरी चितवनबाट काठमाडौँ ल्याएको छ ।
गएको शनिवार कृष्णबहादुर शाहीको गोंगबुमा रहेको डेरामा पुगेका थिए । उनीहरू सँगै बसेर बियर खाएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । बियरको नसा चढ्दै गएपछि कल्पनाले कृष्णबहादुरलाई दहीमा औषधि घोलेर खुवाएको बयान दिएकी छिन् ।
दही खाएपछि कृष्णबहादुर बेहोस भएका थिए । त्यसपछि हथौडाले कृष्णबहादुरको अण्डकाेषमा प्रहार गरी उनको हत्या गरेकाे प्रहरीले जनाएकाे छ ।
हथौडा प्रहारपछि उनकाे मृत्यु हुन्छ । शव लुकाउन कल्पनाले टाउको र खुट्टा काटेर प्लास्टिकको झोलामा राख्छिन् । टाउको र खुट्टाबिनाको भाग सुटकेसमा राखेर बाहिर लगेकाे खुलेकाे छ ।
बोहराको मृतक शरीर टुक्राटुक्रा पार्न कल्पनाले २ वटा खुकुरी प्रयोग गरेको प्रहरी स्रोतले बतायो ।
प्रहरीको अनुसन्धानले हत्या लेनदेन र यौनसँग जोडिएको देखाएको छ । 'अण्डकोषमा हम्बरले हानेको देखिन्छ । तलको भागमा केही चोट छ,' अनुसन्धानमा खटिएका एक अधिकारीले भने ।
हत्या गरेपछि बिहानै उनी चितवन गएको देखिएको छ । एम्बुलेन्स प्रयोग गरेर चितवन पुगेकी थिइन् उनी । आफन्त एम्बुलेन्स चालक भएकाले उनैलाई बोलाएर एम्बुलेन्समा गएको प्रहरीले जानकारी दियो ।
शाही छोरीसँग बस्दै आएकी थिइन्। श्रीमानभन्दा अलग बस्दै आएको प्रहरीले जनाएको छ।
गोंगबुको गणेशस्थान नजिकै आइतबार बिहान टाउको र खुट्टा बिनाको शव राखिएको सुटकेश फेला परेको थियो। सुटकेशभन्दा करिब ३ सय मिटर पर टाउको र खुट्टा राखिएको जेब्रा झोला बरामद भएको थियो।
मृतकको सोमबार अपरान्ह मात्र सनाखत भएको थियो । प्रहरीले त्यसपछि हत्या गरिएको ठाउँ पत्ता लगाएको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७