डोटी । डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गएराति घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा लोगे लुहारकी श्रीमती बिस्ना लुहार, उनका छोरा पारस, ७ वर्षीया छोरीहरू जेनिसा र ५ वर्षकी सिरु लुहार रहेकाे जिल्ला प्रहरी कार्यालय डोटी प्रहरीले जनाएकाे छ।
त्यसैगरी घाइते हुनेमा ३३ वर्षीय घर मालिक लोगे लुहार, निजकी आमा ५२ वर्षीया पाना, सासु ५६ वर्षीया घाङरी विक, सालो १३ वर्षीय इन्द्र विक तथा छोरी २ वर्षीया अस्मिता लुहार छन् ।
घाइते लोगे, पाना, घाङरी तथा इन्द्रको अवस्था गम्भीर रहेको र अस्मिताको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाइतेलाई उपचारका लागि डोटीको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा ल्याइएको छ ।
सिलेटले छाएको तीनतले घरमा राति सुतिरहेको बेला अचानक घर भत्किँदा उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय मौवानगरदहका प्रमुख तथा प्रहरी निरीक्षक वीरबहादुर बुढाको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए ।
घरभित्र च्यापिएका शवको प्रहरी टोलीद्वारा निकाल्ने काम भइरहेको छ । घटनास्थल जिल्ला सदरमुकाम सिलगढीबाट २-३ घण्टाको दूरीमा छ ।
घर भत्किएका कारण कम्तीमा पनि १० लाख बराबरको धनमालको क्षति भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७