काठमाडाैं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रामेछाप जिल्लाकाे सुनापति–२, दिमीपोखरीमा पुनर्निर्माण भएको अग्लेश्वर माध्यमिक विद्यालयको भवन हस्तान्तरण गरेकाे छ ।
साेमबार भर्चुअल माध्यमबाट प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उद्घाटन गर्दै सम्पूर्ण पूर्वाधारसहितकाे साे भवन हस्तान्तरण गरेका हुन् ।
कोरोना महामारीका कारण साेही ठाउँमा उपस्थित भएर कार्यक्रममा सहभागी हुन नसक्ने भएका कारण सिइओले भर्चुअल माध्यममार्फत् कार्यक्रममा सहभागिता जनाएकाे प्राधिकरणले जनाएकाे छ ।
उक्त विद्यालय प्राधिकरणकाे केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) अन्तर्गत एसियाली विकास बैंककाे सहयाेगमा सञ्चालित डिजास्टर रेजिलिएन्स अफ स्कुल्स प्राेजेक्ट (डिआरएसपी) आयोजनाअन्तर्गत पुनःनिर्माण गरिएकाे हाे ।
शर्मा- खानी जेभीले ठेक्का पाएकाे उक्त आयाेजनामा उमर मुन्सी एसाेसिएट्स, ईआरएमसी प्रालि र पेस कन्सलटेन्टले परामर्शदाताकाे रूपमा काम गरेका थिए ।
करिब सवा ८ कराेडकाे लागतमा तयार भएकाे साे आयाेजना निर्धारित मितिअगावै निर्माण सम्पन्न गरी हस्तातन्तरण गरिएकाे परामर्शदाता इन्जिनियर नरकान्त सापकाेटाले जानकारी दिए ।
२ वटा ३ तल्ले भवन बनाइएकाेमा एउटामा १२ काेठा र अर्काेमा ९ काेठा रहेकाे सापकाेटाले बताए । महिला, पुरुष र अपांगमैत्री गरी ३ छुट्टाछुट्टै सुविधासम्पन्न शाैचालय, साेलार सिस्टम सहित आधुनिक पूर्वाधारसहितकाे विद्यालय निर्माण गरी हस्तान्तरण गरिएकाे उनकाे भनाइ छ ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७