ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मुलुकमा पहिलो पटक बनाएको ग्राउण्ड स्टेशन अर्थात सूचना प्रवाह गर्ने माध्यमबाट अझैसम्म नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना र जानकारी लिन सकेको छैन। नाष्टमा जडान गरिएको रेडियो उपकरणमा समस्या हुँदा हालसम्म यसले आफ्नै कार्यालयबाट जानकारी लिन नसकेको हो।
नाष्टले उचित रेडियो खरिद प्रक्रियामा समय खर्च गरिरहेकाले आफ्नै सूचना प्रवाह गर्ने माध्यमबाट भू–उपग्रहको सूचना र तस्वीर लिन ढिलाइ भएको प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले बताए। “हामीले ‘नेपाली स्याट–१’ बाट प्रवाह हुने सम्पूर्ण जानकारी हासिल गर्न सदस्य देशहरूसँग समन्वय गरी अघि बढिरहेका छौँ। यो रेडियो उपकरण अन्य देशमा नरहेको तर अफ्रिकी मूलुकबाट ल्याउनुपर्ने भएको छ”, उनले भने। नाष्टले भूटान, जापान, बङ्गलादेश आदिको भूउपग्रहसँग दैनिक समन्वय गरी सूचना र तस्वीर लिने काम गरिरहेको ढकालले बताए।
नाष्ट कार्यालयमा हाल भएको रेडियोले सूचना प्रवाह गर्न नसकेको, रेडियो सङ्केतमा फ्रिक्वेन्सी म्याचिङ नभएको र पुरानो ढाँचाको रेडियो आवश्यक भएको तर पुरानो ढाँचाको रेडियो उपकरण निर्माण बन्द भएकाले समस्या भइरहेको प्रवक्ता सुरेशकुमार ढुङ्गेलले बताए।
‘नेपाली स्याट–१’ ले केही समयअघि जापानबाट पहिलो पटक सूर्य र पृथ्वीका साथै चीन र भारत सीमा तस्वीर पनि कैद गरिसकेको बताइएको थियो। अमेरिकास्थित भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट १५ महीनाअघि ‘नेपाली स्याट–१’ का साथै श्रीलङ्काको भूउपग्रह ‘रावण–१’ र जापानको भू–उपग्रह ‘युवुसु’ पनि एकैसाथ प्रक्षेपण गरिएको थियो। ती भू–उपग्रह पृथ्वीबाट ४०० किलोमिटर माथि अन्तरीक्षमा रहेका छन्।
नेपालीस्याट–१ भू–उपग्रहबाट हरेक जानकारी हासिल गर्न पाँच मेगा पिक्सलको क्यामेरा जडान गरिएको छ। नेपाल सरकारले सन् २०१७ देखि उक्त भू–उपग्रह निर्माणको योजना अघि बढाएको थियो। २०७६ वैशाख ४ गते प्रक्षेपण गरिएको सो नेपाली स्याट–१ ले करीब दुई महीनापछि असार २ गतेदेखि पृथ्वीको परिक्रमा शुरू गरेको थियो।
पृथ्वीको परिक्रमा गर्नुपूर्व सो भूउपग्रह डेढ महीनासम्म अन्तर्राष्ट्रिय अन्तरीक्ष कक्ष आइएसएसमा रह्यो। उक्त भूउपग्रह पहिलोपटक पृथ्वीमा छाडिएको दिन नाष्टको श्रोतागण कक्षमा जापानबाट जापानी अन्तरीक्ष अन्वेषण संस्था (जाक्सा) ले प्रत्यक्ष प्रसारण गरेको थियो। सो दिन नाष्टमा प्रत्यक्ष प्रसारण गराउन जाक्साका केही विज्ञ पनि नेपाल आएका थिए।
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७