धनगढी । ३ दिनदेखि लगातार परेकाे पानीका कारण धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र डुबानमा परेका छन् ।
लगातारको भारी वर्षाका कारण धनगढीको मूख्य बजार क्षेत्र एलएन चोक, मिलन चोक, बिशालनगर, राष्ट्र बैंक पछाडि, उत्तरबेहडी लगायतका अधिकांश क्षेत्र जलमग्न भएकाे छ।
सडकमा पानी जमेकाले आवागमनमा अवरोध भएको छ। त्यस्तै घरघरमा पानी पस्दा जनजीवनसमेत प्रभावित बनेको छ।
कैलालीको पूर्वी क्षेत्र भजनी, जोशीपुर, टीकापुर, लालबोझी लगायतका क्षेत्र भएर बग्ने नदीहरू कर्णाली, कान्द्रा, पथरैया, मोहना, खुटिया, शिवगंगा लगायतका नदीहरूमा पानीको बहाव निरन्तर बढिरहेको छ ।
नदीका तटीय क्षेत्रका स्थानीयहरूलाई सुरक्षित स्थानमा सार्न कैलाली प्रशासनले स्थानीय तहहरूलाई अनुरोध गरेको छ ।
अविरल वर्षापछि मोहना, काढा र पथरैया नदीमा बाढी आउँदा भजनीकाे बस्तीमा बाढी पसेकाे छ ।
यसअघिको बाढीले डुबानमा परेकाहरू भजनीका स्थानीय ३/४ दिन अघि मात्र घर फर्केका थिए । डुबानका कारण भजनी नगरपालिका–८ सोनहाफाटा खल्ला टोलका ४०, काढाढिकका ५२ र कृष्णनगरका २५ परिवार विस्थापित भएका छन् ।
गत साउन १४ गते आएकाे बाढीका कारण भजनी नगरपालिकाका करिब २ हजार परिवार विस्थापित भएका थिए । बाढीकै कारण भजनीमा करिब ७० प्रतिशत धानबाली नष्ट भएको जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७