जनकपुर । धनुषामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा १ जना अस्पतालका चौकीदार र अर्का नेपाली कांग्रेसका नेता छन् । धनुषाको मिथिला विहारी नगरपालिका–५ घर भएका ४५ वर्षीय पुरुषको एक्कासि ज्वरो र रुघाखोकीका साथै सास फेर्न समस्या भएपछि शनिबार राति उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
प्रजिअ भट्टराईकाअनुसार उनको शव सोही अस्पतालमा राखिएको र स्वाब सङ्कलन गर्ने काम भइरहेको छ । बिदामा गएका बेला उनी अचानक बिरामी भएका थिए ।
त्यसैगरी धनुषाकै शहीद नगरपालिका–८ का ५० वर्षीय नेपाली कांग्रेसका नेताको पनि जनकपुरधामस्थित काव्य अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा मृत्यु भएका उनको पनि स्वाब संकलन गरी परीक्षण भइरहेको प्रजिअ भट्टराईले जानकारी दिए ।
धनुषामा यसअघि एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । २ साताअघि शहीद नगरपालिका–८ का ३६ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो ।
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७