काठमाडौं । तराईका केही जिल्लासँगै काठमाडौं उपत्यका कोभिड–१९ का हिसाबले उच्च जोखिममा परेको छ । काठमाडौंमा दैनिकजसो नै संक्रमणदर बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
बाहिरी जिल्लाबाट भित्रिएका मानिसमा संक्रमण देखिएपछि उनीहरुमार्फत नै उपत्यकामा संक्रमण बढेकाे बताइएकाे छ। याेसँगै आम जनमानसको प्रत्यक्ष सम्पर्कमा हुने सुरक्षाकर्मीमा संक्रमण ह्वात्तै बढ्यो।
विगतभन्दा अहिले मानिसले लापरवाही र हेल्चेक्रयाइँ गरिरहेको पाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बताउँछन्। उनका अनुसार व्यावसायिक प्रतिष्ठानले समेत स्वास्थ्य मापदण्ड नअनाउँदा समस्या बल्झिरहेको छ।
भौतिक दूरी कायम गर्नेमा समेत ध्यान कम दिएकाे पाइएकाे छ। भीडभाड बढ्दो छ भने यातायातमा समेत मापदण्ड प्रयोग गर्न सकिएको छैन। खुलम्खुला मानिस भित्रिरहेका छन्। यी विभिन्न कारणले उपत्यकामा कोभिड–१९ फैलाउन मद्दत गरेको स्वास्थ्यविज्ञहरु बताउँछन्।
उपत्यकाका विभिन्न नाकाबाट सहजरूपमा मानिस आवतजावत हुँदा संक्रमण फैलिन सहयोग गरेको हो। जसरी संक्रमणदर बढ्दो छ, त्यसरी नै परीक्षणको दायरा बढाउनु आवश्यक हुने उनीहरुको भनाइ छ।
सुरुवाती चरणमा भारतीय सीमा क्षेत्रमा बढीे संक्रमण देखिएको थियो। अहिले भारतबाट आउने क्रम न्यून भएपछि नेपालभित्रै संक्रमण फैलिसकेको स्पष्ट भएको छ। आपतकालीन उद्धारमा गएका सुरक्षाकर्मीबाट पनि कोभिड–१९ संक्रमण भित्रिएको आशंका गरिएको छ।
दुई दिनअघि काठमाडौंको हाँडीगाउँस्थित कोटालमा बस्ने एक सुरक्षाकर्मीमा कोभिड–१९ पुष्टि भयो। परीक्षणका क्रममा उनका परिवारसहित पाँच जनाका संक्रमण देखियो। उनका घरबेटीलाई समेत संक्रमण भएको पाइयो।
सोही टोलमा २५ जनाको परीक्षण गर्दा थप ६ जनामा संक्रमण भेटिएको काठमाडौं महानगरपालिका–५ का वडाध्यक्ष रमेश डङ्गोल बताउँछन्। उनका अनुसार अहिले उक्त टोललाई सिल गरिएको छ। उपत्यकाका अन्य १२० भन्दा बढी स्थानमा संक्रमण देखिइसकेको छ।
यस्तो अवस्थामा स्वयं सावधानी अपनाइएन भने नियन्त्रणका कुनै पनि उपायले काम नगर्ने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। नेपालमा गत माघ ९ गते पहिलो संक्रमण देखिएको थियो। त्यसपछि चैतमा फाट्टफुट्ट देखियो। बैशाख अन्तिम सातापछि ह्वात्तै बढेको थियो। त्यो बेला क्वारेन्टिनमा बसेका मानिसमा बढी थियो भने अहिले समुदायमै देखिन थालेकाले थप जोखिम छ।
संक्रमण बढेपछि विभिन्न जिल्लार स्थानीय तहले आ–आफ्नो क्षेत्रमा निषेधाज्ञा जारी गरेर नियन्त्रण प्रयास गरिरहेका छन्। समुदायले आफैँ सचेत भएन भने नियन्त्रण गर्न कठिन हुने चिकित्सकले बताएका छन्।
उपत्यका प्रशासनमा अत्यावश्यकबाहेकको सेवा बन्द
काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेका छन्। कोभिड–१९ को संक्रमण बढ्दै गएपछि त्यसलाई रोक्न उपत्यकाका तीनवटै प्रशासन कार्यालयले आजदेखि सेवा बन्द गरेका हुन्।
पहिलो चरणमा आगामी भदौ ८ गतेसम्म सेवा स्थगन गरिने र त्यसको अवस्थाका आधारमा पुनः अर्काे निर्णय हुने काठमाडौँका प्रमुख जिल्ला अधिकारी दाहालले बताए।
बन्दाबन्दीपछि गत असार १ गतेदेखि उपत्यकाका तीनवटै प्रशासन कार्यालयले सबै सेवा नियमित गरेका थिए। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सरोकारवाला निकायका प्रमुखसहित यही साउन २३ मा बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको थियो।
उपत्यकामा संक्रमण जहाँ देखिन्छ, त्यसठाउँमा सुरक्षा निगरानी बढाउने र आवश्यकतानुसार सथानीय तहले सिल गरेर संक्रमणको पहिचान गरी उपचार गर्ने गरी आवश्यक व्यवस्थासमेत मिलाइएको छ।
सरकारी निर्णयअनुसार गत असार १ गतेदेखि आवश्यक तोकिएको स्वास्थ्य मापदण्ड कार्यान्वयन गराउने, दुई मिटरको दूरी कायम गराउने र साबुनपानीले हात धुने, मास्क लगाउन अनिवार्य गरिएको र त्यसमा अटेर गरेको पाइएमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने प्रजिअ दाहालले जानकारी दिए।
मुख्यगरी नयाँ नागरिकता वितरण, प्रतिलिपि वितरण, हातहतियार दर्ता र वितरण, संस्था दर्ता, पत्रपत्रिका दर्ता तथा नवीकरण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी नवीकरण, नाबालिग परिचयपत्र वितरणलगायत अत्यावश्यक नभएका सेवा हाललाई स्थगन गरिएको छ। शान्ति सुरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी, मुद्दासम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पास र विपद् व्यवस्थापनसम्बन्धी सेवा भने जारी रहने जनाइएको छ।
अत्यावश्यक कामका लागि कार्यालयमा प्रवेश गर्ने सेवाग्राहीले स्वास्थ्य मापदण्ड अपनाई अनिवार्यरूपमा मास्कको प्रयोग गर्नुपर्ने, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने वा साबुनपानीले राम्ररी हात धुनुपर्ने तथा सामाजिक दूरी कायम गर्नुपर्ने छ। उपत्यकाको केही स्थानमा संक्रमण फैलिएपछि सिल गरिएको छ भने केही ठाउँलाई उच्च निगरानीमा राखिएको छ।
अहिलेसम उपत्यकामा एक हजार बढी संक्रमण भइरहेको छ। दैनिक ५० देखि १०० को हाराहारिमा उपत्यकामा कोभिड–१९ देखिँदै आएको छ।
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७