काठमाडौं । उपत्यकाभित्रका ३ वटै जिल्ला प्रशासन कार्यालयले २ साताका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने भएका छन् ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले उक्त निर्णय गरेको हो । बैठकले कोरोना संक्रमण क्षेत्रमा तुरुन्त सिल गर्ने निर्णय गरेकाे छ ।
यससँगै काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरु न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्र सिल गरिने भएको छ । काठमाडाैं जिल्ला प्रशासन कार्यालयले मुख्य यी व्यापारिक केन्द्रहरु सिल गर्ने भएको हो ।
बैठकले अत्यावश्यक बाहेक सबै सार्वजनिक कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । यद्यपि अन्य कार्यालयको हकमा सम्बन्धित कार्यालय प्रमुखले निर्णय लिने बताइएको छ ।
पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको देखिएपछि प्रशासनले यस्तो निर्णय लिएको बताइएको छ ।
त्यस्तै भिडभाड र सार्वजनिक ठाउँमा जाँदा मास्क नलगाउनेलाई थप कडाइका साथ कारबाही गर्न निर्देशन दिने समेत निर्णय भएको छ।
सपिङ मल, व्यापारिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भए वा नभएको जाँच गरिने छ भने पालना नगरेको पाइएमा बन्द गरिने छ ।
उपत्यकाका ३ वटै जिल्लामा रहेका क्वारेन्टाइनलाई आइसोलेसन सेन्टर बनाउने प्रस्ताव गृह मन्त्रालयमार्फत कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) मा पठाउने निर्णय पनि भएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७