ललितपुर। काठमाडौँ-हेटौंडा जोड्ने छोटो दूरीको कान्ति लोकपथका ठाउँठाउँमा पहिरो गएको छ ।
१९ साउनदेखिको भारी वर्षाका कारण गोदावरी नगरपालिका-६ टीकाभैरवदेखि बागमती गाउँपालिका-७ गिम्दीसम्मको मुख्य सडक अवरुद्ध भएको हो ।
टीकाभैरवदेखि सिउरानीसम्म झण्डै २५ किलोमिटर सडकका ठाउँठाउँमा पहिरो खसेर अवरुद्ध भएको स्थानीयवासी दीपक घिमिरेले जानकारी दिए ।
उनले भने, 'हामीले चार/पाँच वटा स्काभेटर लगाएर बाटो पन्छाउँदा पनि माटो फाल्न सकेका छैनौँ, यहाँको १० ठाउँमा पहिरोले असर गरेको छ।'
बागमतीबाट दैनिक ढुवानी हुने ५ देखि ७ सय लिटर दूध र ३ देखि ४ गाडी तरकारीसमेत किसानले बजार लैजान पाएका छैनन्।
कान्ति लोकपथका ठाउँठाउँमा पहिराले बिजुलीका खम्बा ढलाउँदा विद्युतीय सेवाका साथै इन्टरनेटको पहुँचबाट समेत स्थानीयवासी वञ्चित भएको घिमिरेले बताए।
यसैगरी पहिरो र वर्षाका कारण टीकाभैरवदेखि गिम्दीसम्म लगभग ७० किलोमिटर मुख्य सडक नै अवरुद्ध भइरहेको यात्रु सन्तोष दाहालले बताए ।
बागमती- ३ भट्टेडाँडास्थित भालुखोला, झाँक्रीडाँडा र छपेली, वडा नम्बर ६ आश्राङस्थित रुम्बा र घिसिङमा ठूलो पहिरो गएर मुख्य सडक नै अवरुद्ध भएको छ।
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७