रोल्पा । रोल्पामा पहिलो जनयुद्ध सङ्ग्रहालय स्थापना गरिएको छ । त्रिवेणी गाउँपालिका तिलाको मूल प्रवेशद्वारमा जनयुद्ध स्मृति राष्ट्रिय सङ्ग्रहालय स्थापना गरिएको हो ।
जनयुद्ध सुरु भएको रोल्पामा भावी पुस्तालाई इतिहासको रूपमा चिनाउने उद्देश्यका साथ जनयुद्ध स्मृति राष्ट्रिय सङ्ग्रहालय स्थापना गरिएको हो ।
मूल प्रवेशद्वारमा जनमुक्ति सेनाको तस्वीर कोरिएको छ । उक्त तस्वीरमा महिला जनमुक्ति सेनाले पिठ्युमा बच्चा, हातमा बन्दुकसहित पुरुष सेना सँगसँगै पहाडमा उकालो लाग्दै गरेको युद्धताकाको दुर्लभ तस्वीरलाई झल्काइएको छ ।
सङ्ग्राहलयमा यस्ता आवरण देख्दा आफू युद्ध लडेको स्मरण भएको पूर्वजनमुक्ति सेना अग्रिम पुनले बताए ।
यही व्यारेकमा बसेर सहायक कमान्डरका रुपमा काम गरेको बताउँदै इतिहास झल्कने खालका संरचनालाई बचाउन सबैको मद्दत हुनुपर्ने पुनले बताए ।
देशकै पहिलो जनयुद्ध सङ्ग्रहालय भएकाले यसको अवलोकनबाट धेरै कुरा सिक्न सकिने प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले बताए ।
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष खेम बुढामगरले जनयुद्धकालीन झल्को दिने सामग्रीलाई नमूनाका रूपमा राख्नुपर्ने बताए ।
क्त सङ्ग्राहलयभित्र जनमुक्ति सेनाको ब्यारेकका सम्पूर्ण भौतिक संरचनाअन्तर्गत बङ्कर, ड्युटीपोस्ट, पुराना डिजाइनका भवन देख्न सकिन्छ ।
सङ्ग्रहालय परिसरमा १ हजार ३सय मिटरको दृश्यावलोकन स्तम्भ निर्माण गर्ने योजना रहेको छ ।जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढामगरले युद्धकालीन संरचनाको संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
उनले रोल्पामा यस्ता युद्धकालीन थुप्रै संरचना रहेका र स्थानीय सरकारले यस्ता संरचनाको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्न जरुरी रहेको बताए ।
प्रदेश सरकारको ५० लाख, निर्माण व्यवसायी समितिमार्फत खर्च गरिएको थियो भने सङ्घीय सरकारबाट प्राप्त भएको ४० लाख उपभोक्ता समितिमार्फत खर्च गरिएको समितिका अध्यक्ष अमर डाँगीले बताए ।
लकडाउनका कारण उपभोक्ता समितिले केही रकम खर्च गर्न नसकेको डाँगीले बताए । सङ्घीय सरकारल र प्रदेश सरकारको कूल ९० लाखमा उक्त सङग्रहालय तथा प्रवेशद्वार निर्माण गरिएको हो ।
प्यारामिटर १ हजार ३ सय ५० मिटर, गेट, घेराबार, जीर्ण अवस्थामा रहेका भवनको मर्मतलगायतका निमार्णकार्य गरिएको छ ।
त्यस क्षेत्रमा दृश्यावलोकन स्तम्भलगायत अन्य पर्यटन प्रवद्र्धनलाई टेवा पुग्ने खालका भौतिक संरचनासमेत निर्माण गरिने भएको छ ।
सङ्घीय सरकार र प्रदेश सरकारले डिभिजन वन कार्यालयमार्फत आएको पर्यटन विकासतर्फको बजेटले उक्त भौतिक पूर्वाधार निर्माण गरिएको डिभिजन वन अधिकृत दडिलाल कँडेलले जानकारी दिए ।
तत्कालीन सेनासँगको लडाइँमा बिग्रेड सहकमान्डरका रूपमा रहेर अर्घाखाँचीको दहमा दोहोरो भिडन्तमा मारिएका ज्वारको नाममा व्यारेक राखिएको थियो ।
विसं २०५२ साल १ फागुनदेखि रोल्पाबाट जनयुद्ध शुरु भएपछि सशस्त्र विद्रोहको समयमा जिल्लाका गाम, सुकीदह, हार्जङ, भावाङ, जेल्बाङ, थवाङ, कोर्चावाङलगायतका दर्जनौँ स्थानमा तत्कालीन माओवादी सेना र नेपाली सेनाबीच दोहोरो भिडन्त भएको थियो ।
यी ठाउँलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको जानकार बताउँछन् । युद्धकालीन समयमा रोल्पामा ९ सय ६९ जनाको मृत्यु भएको थियो भने ३३ जना बेपत्ता भएका थिए ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७