काठमाडौँ । बिहीबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेकाले केही कमजोर भए पनि मनसुनी गतिविधि सक्रिय नै रहेको मौसमविदको भनाइ छ ।
गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएकाे छ ।
बिहीबार दिउँसो देशभर सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रदेश १ र गण्डकी प्रदेशका १-२ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेकाे बुलेटिनमा उल्लेख छ ।
यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ । प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का १-२ स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै शनिबार रातिदेखि भने नेपालमा फेरि ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
समविद् समीर श्रेष्ठका अनुसार शनिबार रातिदेखि मनसुनको न्यून चापीय रेखा फेरि नेपालतर्फ नजिकिने सम्भावना रहेकाले वर्षा बढ्ने अनुमान छ ।
देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७