सफल बन्नुका पछाडि हरेक मानिसका आ-आफ्नै संघर्षका कथाहरु हुन्छन् । अनेकौँ दुख, कष्ट र ठक्कर सहेर मानिसहरु सफलताको भर्याङ चढेका हुन्छन् । मेहनत, लगन र इमान्दारिताले नै मानिसलाई पेसा, व्यवसायमा सफल बनाउँछ । सफलताका यिनै सूत्रहरु पहिल्याउँदै कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ७ का ४६ वर्षीय सर्जुप्रसाद थारुले 'कमैयाबाट करोडपति' बनेर सफल व्यक्तिहरुको क्लबमा आफूलाई सामेल गरेका छन् ।
टीकापुर नगरपालिका वडा नम्बर ७ बेलुवा चौराहामा सर्जुले किसान स्टिल फर्निचर उद्योग सञ्चालन गरेका छन् । उनको उद्योगले कृषि औजार र स्टिल फर्निचरको उत्पादन र बिक्री वितरण गर्दै आएको छ । उद्योगमा एक दर्जन मानिसहरुले नियमित रोजगारी पाएका छन् ।
२०६९ साल भदौदेखि सञ्चालनमा आएको किसान फर्निचरका उत्पादनले कैलाली तथा बर्दिया जिल्लामा राम्रो बजार आगटेको छ । सर्जु आफैँ स्टिल फर्निचरमा दक्ष प्राविधिक हुन् । उद्योगमा कर्मचारीसँगै मिलेर काम गर्ने र उत्पादनको गुणस्तर आफैँ जाँच गर्ने भएकाले ग्राहकहरुबाट हालसम्म कुनै गुनासो नआएको सर्जु बताउँछन् ।
उद्योग स्थापनाको ८ वर्षमै सर्जुले यस क्षेत्रमा सफल करोडपति व्यवसायीको पहिचान बनाएका छन् । काममा मेहनती र लगनशील त उनी छन् नै । बोलीमा मृदुभाषी र व्यवहारमा मिलनसार हुनु सर्जुका विशेषता हुन् । एक व्यक्तिमा यी सबै गुण हुनु नै सफलताको आधार भएको उनी स्वीकार्छन् ।
कमैया परिवारमा जन्मेर युवा अवस्थामै करोडपति बन्नु सजिलो विषय होइन । तर सर्जुले यो कुरा प्रमाणित गरिदिएका छन् । कमैयादेखि करोडपति व्यवसायी बन्ने क्रममा सर्जु र उनको परिवारले गरेको संघर्षका कथा आममानिसका लागि प्रेरणादायी बन्न सक्छन् ।
२०४० सालको भीषण बाढीले सर्जुको परिवार दक्षिणी कैलालीको कर्णाली नदीको किनारमा रहेको फाँटा गाउँबाट नजिकैको गाउँ कर्मीडाँडा बसाइ सर्याे । सर्जु सम्झिन्छन्, 'फाँटामा अलकति एलानी खेती थियो । बाढीले बगायो । कर्मीडाँडाको बसाँसराइसँगै बुबाको कमैया जीवन सुरु भयो ।'
बुबा कमैया बस्दा ९ बर्षका सर्जुले दिउँसो स्कुल पढ्ने, साँझबिहान सानो टिनको बाकसमा खुद्रा सामान राखेर गाउँमा डुलेर बेच्ने व्यवसाय गरे ।
कमैयाको स्थायी घर र ठेगाना हुँदैन थियो । हरेक वर्ष घर फेरिन्थ्यो, गाउँ फेरिन्थ्यो र मालिक फेरिन्थ्यो । यसै क्रममा २०४६ सालमा नजिकैको गाउँ रोइनीबोझीमा सर्जुको परिवार बसाइँ सर्याे । सर्जु त्रिभुवन मावि बटनपुरमा कक्षा ७ मा पढ्दै थिए ।
त्योबेला एउटा कमैया परिवारलाई १ जोर लुगा र १ छाक खानाका लागि धौधौ हुन्थ्यो । कतिपय परिवारसँग त १ रुपैया किलो ढिके नुन किन्न पनि पैसा हुँदैन थियो ।
बाकसमा पसल चलाएका सर्जुले पढाइ छाडेर भारतमा कमाउन जाने निधो गरे । स्थानीय खड्गबहादुर साउद र वीरबहादुर चौधरीसँग उनी पहिलोपल्ट रोजगारीको खोजीमा भारतको उत्तर प्रदेशको अमेठी सहर नजिकै सुल्तानपुर पुगे । सर्जु सुनाउँछन्, 'पहिलोपल्ट तिकुनियामा रेल देख्दा लाग्यो- यति लामो पनि गाडी हुँदोरहेछ ।'
सुल्तानपुरमा उनले १ जना सानो व्यापारीको घरमा भाँडा माझ्ने काम पाए । २ सय रुपैयाँ मासिक तलब । दिउँसो फुर्सदमा गाईको गोबर बोकेर छतमा गुइँठा बनाउनुपर्ने । बुबा आमाबाट छुट्टिएर पहिलो पटक परदेश गएको । बुबा आमाको सम्झनाले सतायो, उनी बस्न सकेनन् । ४ महिनापछि घर फर्केको सर्जु बताउँछन् । 'घर फर्केलगत्तै फेरि त्रिभुवन माविमा कक्षा ७ को अधुरो पढाइ अगाडि बढाएँ', सर्जुले भने ।
सर्जु भन्छन्, 'स्कूल जान थालेको केही महिनापछि घरमा आर्थिक कठिनाइ रहेको महसुस हुन थाल्यो । पढाइभन्दा अहिले पैसा प्रमुख आवश्यकता हो भन्ने लाग्यो । कक्षा ७ को जाँच आउनै लाग्दा फेरि सुल्तानपुरमा त्यही व्यापारीको घरमा पुरानै काम गर्न थालेँ ।'
भाँडा माझ्ने, गोबर सोहाेर्ने कामले मात्र अब मनमा सन्तुष्टि हुन छाड्यो । मनमा केही नयाँ काम खोज्नु पर्छ भन्ने भावना आउन थाल्यो । अनि भाँडा र गोबरसँग साइनो तोडेर सुल्तानपुरमै रिबेला अल्ट्रासाउन्ड सेन्टर सञ्चालकको घरमा भान्छामा ६ महिना काम गरे । त्यहाँ खाना पकाउन सिके ।
त्यहाँ पनि छाडेर सुल्तानपुरकै होटल विजय डिलक्समा वेटर भएर काम गरिरहँदा गाउँबाट बुबा बिरामी भएको खबर आयो । फेरि घर फर्किए । भाइहरु नाबालक थिए । बुबा बिरामी । परिवारको पालनपोषणको जिम्मेवारी काँधमा आइलाग्यो । करिब डेढ वर्ष कहिले कमैया बसेर त कहिले खेती अधियाँ बटैया गरेर परिवार पाल्ने काम भयो ।
यही क्रममा २०५९ मा विवाह गरे उनले । २०५० मा बुबा बिते । कृषि कर्म जारी थियो । जसरी बुबा र अरु गाउँलेहरुले खेती किसानी गरेर जीवन बिताइरहेका थिए, आफ्नो पनि त्यस्तै हो भनेर थन्किएर गाउँमै बसे । तर, मनमा शान्ति थिएन । के गरौं कसो गरौं भनेर मन भित्रभित्रै उकुसमुकुस थियो ।
फरुवा काँधमा राखेर खेतमा जाँदै थिए । बाटोमा रणबहादुर धामी भेटिए । उनले भने, 'ए सर्जु म बम्बै जान लाग्या छु । तु पन कमाउन जाने होइ भने हट ।' धामीको त्यो आह्वानले खेतमा काम गर्न जान लागेको उनकाे मनले अरु केही सोचेन । उनी फनक्क फर्केर घर आए र त्यही दिन दिउँसो उनीसँगै बम्बै हिडे । 'त्यो २०५१ सालको कुरा हो', उनले भने, 'साथीहरुले बम्बैमा कान्धीवली चारकोमा रहेको राजकमल स्टिल फर्निचर उद्योगमा जागिर लगाइदिए ।'
९ बर्षको छँदा टिनको बाकसमा घुम्ती पसल चलाएका सर्जुले त्यस्तै खालका टिनका बाकस र स्टिल दराजहरु बनाउने उद्योगमा जागिर गर्नुपर्ला भनेर कहिल्यै सोचेका थिएनन् । राजकमल स्टिल फर्निचरको जागिरले उनको व्यावसायिक जीवनलाई रुपान्तरण मात्र गरेन, कालान्तरमा एक कमैया ठिटोलाई करोडपति बनायो ।
मजदुरका रुपमा राजकमल स्टिल फर्निचरमा जागिर सुरु गरेका उनले ४ वर्षको अवधिमा एक अब्बल स्टिल फर्निचर प्राविधिकको रुपमा आफूलाई तयार गरे । सर्जु भन्छन्, 'बम्बैमा राजकमलले उच्चस्तरका स्टिल फर्निचर उत्पादन र बिक्री वितरण गर्थ्यो । राजकमल एक सफल ब्रान्डका रुपमा स्थापित थियो ।'
२०५५ सालमा सर्जुले राजकमल छाडे । कल्यानमा ठूलो स्टिल फर्निचर कम्पनी शाह फर्निचरमा काम गर्न थाले- हेड मिस्त्रीका रुपमा । आकर्षक तलब सुविधाले आत्मबल बढेको उनी बताउँछन् ।
केही समय त्यहाँ काम गरिसकेपछि गुजरातको सुरतमा रहेको डालाराम स्टिल फर्निचरबाट अफर आएपछि उनी बम्बैबाट गुजरातको सुरतमा सरे । त्यहाँ पनि हेड मिस्त्रीको जिम्मेवारी पाए । त्यहाँ हेड मिस्त्रीको रुपमा काम पनि गर्ने, साथीहरुसँग मिलेर स्टिल फर्निचर सप्लाईको ठेक्कापट्टा पनि गर्ने काम भयो । राम्रो पैसा कमाइयो ।
बम्बै र सुरतमा कमाएको पैसाले गाउँमा जग्गा र विभिन्न ठाउँमा घडेरी पनि जोडे । त्यही बेला २ लाख रुपैयाँको लगानीमा सुरतमा कोल्ड स्टोर खोले । कोल्ड स्टोरबाट नाफा हुन नसकेपछि बन्द गर्नुपर्याे ।
आर्थिक अवस्था राम्रो हुन थालेपछि आफ्नै नेतृत्वमा सुरतमा अम्बिका स्टिल फर्निचर उद्योग खोले सर्जुले । १८ महिना त्यसको नेतृत्व गरिसकेपछि अब आफ्नै देशमा केही नयाँ व्यवसाय गर्नुपर्छ भन्ने मनमा सोच आयो र २०६८ सालमा भारत नफर्किने गरी नेपाल फर्किएको सर्जु सुनाउँछन् ।
नेपाल त फर्किएँ । के गर्ने कसो गर्ने भनेर १ वर्ष अलमलमा बिताएको सर्जु बताउँछन । बम्बै र सुरतको कमाइबाट गाउँमा रहेको माइलो भाइले गरिखाओस् भनेर ट्याक्टर किनिदिएको बताउँदै उनले भने, 'कृषि विकास बैंकको किस्ता र व्याज तिरेको रहेनछ । ६ लाख ऋणको १८ लाख पुगेको रहेछ । त्यो पनि सबै तिरे । अनि १ वर्ष घुमफिरमै बित्यो ।'
अब केही गर्नुपर्छ भनेर आफूले सिकेको सीप अनुसारकै स्टिल फर्निचरको व्यवसाय सुरु गर्ने निधो गरे । १० लाख रुपैयाँ लगानीमा २०६९ साल भदौमा किसान स्टिल फर्निचर उद्योगको स्थापना भयो ।
सर्जुको उद्योगमा साना किसानहरुका लागि आवश्यक कृषि सम्बन्धी औजारहरु र घर, अफिसका लागि उच्चस्तरीय स्टिल फर्निचरहरु उत्पादन हुँदै आएका छन् । सर्जुलाई उनका कान्छा भाइ रामप्रसादले २० वर्ष देखि साथ दिँदै आएका छन् । भारतका विभिन्न सहरमा काम गर्दा पनि रामप्रसादले दाजुको साथ कहिल्यै छोडेनन् । रामप्रसाद पनि स्टिल फर्निचर उत्पादनमा दक्ष प्राविधिक हुन् ।
कैलाली र बर्दियामा थारु समुदायको ठूलो बसोबास छ । त्यसमा अझ मुक्त कमैयाहरुको जनसंख्या पनि उल्लेख्य छ । निम्न वर्गीय थारु समुदायबाट करोडपति बनेका थोरै व्यवसायीमा पर्छन सर्जु । पेसाप्रतिको मेहनत, लगन र इमान्दारिताले नै आफूलाई सफलताको शिखरमा पुर्याएको सर्जु बताउँछन् । उनी यस क्षेत्रमा सबैका लागि प्रेरणाका स्राेत बन्दै आएका छन् ।
अब उनले आफ्ना उत्पादनको बजारलाई विस्तार गर्ने सोच बनाएका छन् । उत्पादित सामग्रीलाई अझ विश्वसनीय र गुणस्तरीय बनाएर प्रतिस्पर्धी बनाउन नेपाल गुणस्तर चिह्न र आइएसओ समेत प्राप्त गर्ने तयारीमा लागेकाे सर्जु बताउँछन् ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७