राजविराज । सप्तरीमा कोरोना संक्रमणसँग मिल्ने लक्षण देखिएका ३ जना बिरामीको मृत्यु भएको छ।
मलेसियाबाट आएर होम क्वारेन्टाइनमा बसेका १ जना र छिन्नमस्ता अस्पतालमा उपचार गराइरहेका २ जनाको मृत्यु भएको हो ।
राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार गराइरहेका २ जनाको मंगलबार मृत्यु भएको हो ।
दीर्घ रोगी रहेका सप्तरीको राजगढा गाउँपालिकाका ७१ वर्षीय र डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय वृद्धको उपचाको क्रममा मृत्यु भएको सप्तरीका स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
यसैगरी जिल्लाको रुपनी गाउँपालिका ५ स्थित गढियामा डेढ महिनाअघि मलेसियाबाट आएका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
मलेसियाबाट आएर होम क्वारेन्टाइनमा बसेका उनलाई मंगलबार एक्कासी ज्वरो आउने र सास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको थियो।
त्यहाँ उनको उपचार सम्भव नभएपछि धरान पठाइएकोमा मंगलबार राति नै बाटोमै मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले जानकारी दिए।
मृतक तीनै जनाको स्वाब संकलन गरी परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उनले बताए।
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७