लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार शक्तिशाली विस्फोट भएको छ । सो विस्फोटनमा परी १ सयभन्दा बढीको मृत्यु भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
करिब २ हजार ७ सय ५० टन ‘एमोनियम नाइट्रेट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटमा परी ४ हजारभन्दा बढी घाइते भएका छन् ।
यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेट’ भण्डारण गरिएको थियो । सो विस्फोट निकै टाढासम्म सुनिएको यहाँका स्थानीयवासीले जनाएका छन् ।
अहिले पनि सो विस्फोटपछि धुवाँ उडेका तस्बिरहरु यहाँका सञ्चारमाध्यमहरुले दिइरहेका छन् । ती तस्बिरहरु हेर्दा अवस्था निकै क्षतविक्षत देखिएको छ ।
विस्फोटपछिका अनलाइनमा राखिएका भिडियाेहरुमा धुवाँको विशाल मुस्लो देखिएको छ र यहाँ धेरै क्षति भएका भौतिक संरचनाको अवस्था पनि देखिएको छ ।
त्यस गोदाममा कुनै बाह्य आक्रमण भएका कारण यो विस्फोट भयो कि आफैं विस्फोट हुन पुगेको हो भन्ने कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ ।
लेबनानका गृहमन्त्री मोहम्मद फाहमीले सो गोदाममा राखिएको एमोनियम नाइट्रेट राखिएकाले त्यो विस्फोट शक्तिशाली हुन पुगेको र यसले ठूलो क्षति पुर्याएको बताएका छन् ।
लेबनानका प्रधानमन्त्री हासान डीयाबले यस विस्फोटलाई देशको ठूलो विपत्ति भएकाे बताएका छन् । उनले यस विषयको अनुसन्धान सुरु भइसकेको र दोषीहरूलाई जवाफदेही बनाइनुपर्ने बताएका छन् ।
उनले एक टेलिभिजनमा सम्बोधन गर्दै यस घटनामा संलग्नहरुलाई कडा कारबाही गरिने र उनीहरुलाई उम्किन नदिइने बताए ।
गोदाममा राखिएको एमोनियम नाइट्रेटको अवस्था बारेमा जाँचबुझ गरी ५ महिनाअघि नै लेबनान सरकारलाई प्रतिबेदन बुझाइएको पनि सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रतिबेदनमा एमोनियम नाइट्रेटको भण्डारमा सुरक्षा सतर्कता अति जरुरी रहेको औंल्याइएको थियो ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७