काठमाडौं । मध्यपुरथिमि नगरपालिका वडा नं. ८ र ९ बोडेमा ३ दिन र ४ रातसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध लिच्छवीकालीन परम्परागत नीलबाराही नाच यस वर्ष राति मात्रै सञ्चालन गरिने भएको छ ।
दैवी शक्तिमा विश्वास राख्दै नाचिने यो नाच आज राति करिब १० बजे सुरू हुने भएको छ । कोरोना भाइरस संक्रमण रोक्न वडा नं. ८ र ९ का वडाध्यक्षसहितको बैठकले नाचलाई यस वर्ष राति मात्रै सञ्चालन गर्ने निर्णय गरेको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बताए।
विगतका वर्षहरूमा राति र दिउँसो टोलटोलमा नाच देखाउने र स्थानीयले पूजा पनि चढाउने परम्परा रहे पनि यस वर्ष भने मूल पूजा गर्ने, टोलटोलमा राति नाच देखाए पनि स्थानीयले पूजा नचढाउने र नाच राति मात्रै सञ्चालन गर्ने निर्णय गरिएको उनले बताए ।
नाच सञ्चालनमा नगरपालिकाले सहयोग गर्ने बताउँदै उनले राति नाच सञ्चालन गर्दा बाहिरबाट आउने दर्शक रोकिने र स्थानीयको उपस्थिति पनि कम हुने बताए।
वर्षौंदेखि जस्तोसुकै अवस्थामा पनि नरोकिएको यो नाच यस वर्ष पनि नरोक्ने तर दिउँसो सञ्चालन नगर्ने निर्णय भएको हो। कोरोना संक्रमण रोक्न सबैले सचेत हुनुपर्ने बताउँदै उनले देवगणदेखि नाच सञ्चालनमा जोडिने व्यक्ति र स्थानीयलाई पनि संक्रमणबाट जोगिन र जोगाउन सचेतना अपनाउन उनले आग्रह गरे।
हरेक वर्ष गाईजात्राको भोलिपल्ट राति सुरु गरी मनाइने यो नाच बोडेमा राति, बिहान र दिउँसो टोलटोलका चोकचोकमा देखाइने परम्परा रहँदै आएको छ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७