कैलाली । कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा ५ दिनसम्म शव घरमै राखिएको छ।
स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो।
बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी घटनास्थल पुगेको थियो। शक्तिनगर शिविरका अगुवा मोतीराम डगौरा मुटुको बिरामी थिए।
कोहलपुरमा उपचारपछि घर फर्केका मोतीरामको मृत्यु भएको थियो। मृत्युपछि ५ दिनअघि थप उपचारका लागि पास्टरको घर ल्याइएको मोतीरामका २१ वर्षका छोरा ईश्वर डगौराले जानकारी दिएका छन् ।
पास्टर र धर्मप्रति विश्वासमा परेका ईश्वर ७ दिनपछि बाबु उठ्ने विश्वासमा थिए । पास्टर चौधरी पनि शवमा पसिना आएर गन्ध आएको र शव उठ्ने विश्वासमै थिए । तर मंगलबार बिहान गन्धले खाना खान नसकी छिमेकीको घरमा गएको बताए ।
पास्टर दीपकले टीकापुर नगरपालिका–४ का १ जनाको शरीरमा लागेको घाउ सञ्चो भएको विश्वासमा मोतीरामलाई प्रार्थना गरेर राखिएको बताए ।
मंगलबार दिउँसो मोतीरामको शरीर हेर्दा सडेर गन्हाइसकेको छ । प्रहरी पुगेपछि ५ बजेतिर शव उठाएर टीकापुर अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७