काठमाडौं । गत सोमबार साँझ कपनस्थित आकाशेधाराको चौर छेउको झाडीमा फालिएको भनिएकी बालिकालाई जानीजानी राखेको पाइएको छ ।
प्रहरी अनुसन्धानका क्रममा शिशुकी आमाले आफैं केयर बालगृहकी सञ्चालिका पुष्पा अधिकारीलाई शिशु बुझाएकी थिइन् ।
विदेशबाट आएकी एक जना महिलाले जन्माएकी ती शिशु अधिकारीलाई जिम्मा दिएपछि उनले नै बक्सामा हालेर झाडीमा राखेकाे खुलेकाे छ ।
प्रहरीका अनुसार ३८ वर्षीय महिला असारमा वैदेशिक रोजगारीबाट नेपाल फर्किएकी थिइन् । वैदेशिक रोजगारीकै क्रममा उनको अवैध गर्भ रहेकाे थियाे ।
विदेशबाट फर्किएपछि ती महिला महाराजगन्जमा रहेको आप्रवासी महिला समूहको सेल्टरमा १ महिना बसिन् । त्यसपछि साउनको पहिलो साता टिचिङ अस्पतालमा छोरीलाई जन्म दिइन् ।
अविवाहित भएकाले छोरी लिएर घर जानसक्ने अवस्था नभएपछि अधिकारीले सञ्चालन गरेको बालगृहमा बालिका जिम्मा लगाउने याेजना त्यही सेल्टरकाे समूहमा बनेकाे थियाे ।
तर अधिकारीले भने बेवारिसे शिशु भेटिएकाे भनेर प्रचार गरेपछि उनलाई सहयाेग गर्नेहरूकाे ताँती नै लागेकाे थियाे । शिशु भेटिएको केही दिनमै पुष्पालाई देश विदेशबाट लाखौं सहयोग जुटेको थियो ।
तर घटना नियोजित भएको पाएपछि हिजो उनको सहयोगका लागि रकम जुटाउन सहयोग गर्ने सञ्चारमाध्यमहरुसहित व्यक्तिहरुले समेत रकम र जिन्सी सामानहरु फिर्ता लिएका छन् ।
बेवारिसे शिशु भेटिएकाे झुठाे प्रचारसहित चन्दा उठाउन थालेपछि शिशुकी आमा बालगृह पुगेर बच्चा आफूले लिने बताइन् । प्रहरीले बच्चा उनकाे जिम्मा लगाएर पठाइसकेकाे छ।
प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७