काठमाडाैं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको पाइएको छ। खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले गेट भित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष निकालेको छ।
समितिले पछिल्लो समयमा प्राविधिक ‘डिजाइन रिभ्यु’ नभएको पनि जनाएको छ। समितिले सुरुङमा रहेका चारवटै गेटमा पुनःअवलोकन (रिभ्यू) गर्न पनि सुझाव दिएको छ। गेटमा नटबोल्ट राम्रो नकसिएको पाइएको छ।
सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ स्थित आयोजना निर्माणस्थलमा दुई साता पहिले सुरुङको गेट खुल्दा त्यहाँ एक सातासम्म जम्मा गरिएको पानी बाहिर निस्केको थियो। सो दुर्घनाका कारण कन्सलट्यान्ट दोर्जे पेम्बा र इन्जिनियर शेखर खनाल घाइते भएका थिए।
दुर्घटनाका कारण इन्जिनियर सतीश गोहित र सवारीचालक राधाकृष्ण थापामगर बेपत्ता भएका थिए। तीमध्ये इन्जिनियर गोहित घटनाको भोलिपल्ट मृत फेला परेका थिए भने चालक थापामगर अझै बेपत्ता छन्। सुरुङ परीक्षणका लागि पानी भर्न झण्डै १५ दिन लाग्नेमा एक सातामा पानी बाहिर निस्केको हो। असार २१ मा पानी पथान्तरण गरिएकामा ३० असारमा दुर्घटना भएको थियो।
सो दुर्घटनाको जिम्मेवारी परामर्शदाता कम्पनी र गेट निर्माण गर्ने कम्पनी दुवैको भएको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए। उनका अनुसार इटास कम्पनी परामर्शदाताका रुपमा रहेको थियो भने भारतीय कम्पनी पिआइएलले गेट निर्माण गरेको हो।
आयोजनामा यस पहिले काम गरेको इटालियन कम्पनी सिएमसीले नै गेट निर्माण गर्न सो कम्पनीलाई लगाएको थियो। नेपाल सरकारसँग सिएमसीको ठेक्का रद्द भए पनि सोही कम्पनीले गेट निर्माणको बाँकी काम सम्पन्न गरेको थियो। समितिले गेटको फ्रेम नयाँ राख्नुपर्ने सुझाव दिएको छ। उनले ने, ‘त्यो सुधार गरेपछि मात्रै सुरुङमा पानी पठाउन सकिन्छ।’
सुरुङमा रहेका त्रुटि हटाउनका लागि अझै झण्डै दुई महिना लाग्ने मन्त्रालयले जनाएको छ। यो अवधिमा निर्माण कम्पनीले ‘हेडबक्स’ काम गरिरहेको छ। चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँगको सम्झौतानुसार ‘हेडबक्स’ निर्माणको अवधि अझै तीन महिना छ। सरकारले यसअघि अस्थायी बाँधबाट पानी पथान्तरण सुरु गरेको थियो।
त्रुटि सच्याउदासम्म ‘हेडबक्स’ को निर्माण सकिएमा त्यसैबाट पानी पथान्तरण हुनेछ। मेलम्चीको सुरुङमा दुर्घटना भएपछि पनि अरु निर्माणका काम रोकिएको छैन। उनले भने, ‘पानी वितरणका लागि आवश्यक संरचना निर्माण र आवश्यक व्यवस्थापकीय तयारीको काम अघि बढेको छ।’
आयोजनाअन्तर्गत सुरुङ, हेडबक्स र दुई पानी प्रशोधन केन्द्र निर्माण भएको हो। दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने गरी सुन्दरीजलमा दुई वटा ट्यांकी निर्माण भइसकेको छ। यहाँको प्रशोधन केन्द्र दुवैको क्षमता साढे आठ करोड लिटर रहेको छ। तीमध्ये एउटाको निर्माण जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) र अर्को एशियन विकास बैंक (एडीबी( को आर्थिक सहयोगमा निर्माण भएको थियो।
बन्दाबन्दीको अवधिमा पनि यस आयोजनामा निर्माणको काम भइरहेको थियो। सरकारले निर्माण सम्पन्न हुने क्रममा रहेका राष्ट्रिय गौरवका आयोजना तामाकोशी जलविद्युत् आयोजना र यो आयोजनामा निर्माणको काम सञ्चालन गर्ने निर्णय गरेको थियो।
बन्दाबन्दीका कारण घर फर्किएका कतिपय कामदार आउन नसकेको र निर्माण सामग्री ल्याउन कठिनाइका कारण सामान्य अवस्था जसरी काम हुन सकेको थिएन। निर्माण कम्पनीले उपलब्ध जनशक्ति र सामग्रीबाट निर्माण गरिरहेको हो। स्थानीयवासी र स्थानीय तहले आयोजनाका कारण कोभिड–१९ को जोखिम भएको भन्दै बन्द गर्न भनिरहँदा पनि आयोजना सुचारु थियो।
लामो समयसम्म पनि सम्पन्न नभएको राष्ट्रिय गौरवका आयोजनामा यो आयोजना पर्छ। काठमाडौं उपत्यकामा रहेको खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी काठमाडौं ल्याउन संस्थागत पहल सुरु भएको दुईदशक भयो। विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो।
आयोजना निर्माणका लागि एशियाली विकास बैंकले सन् २००१ मा सम्झौता भएको थियो। पछिल्लोपटक काम गरेको इटालियन कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिकरुपमा टाट पल्टेर कम्पनी फिर्ता भयो।
केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। खानेपानी मन्त्रालयले पटकपटक असारसम्म काठमाडौं उपत्यकामा मेलम्चीको पानी झारिने प्रतिबद्धता जनाएको थियो। यो दुर्घटनाले त्यो समय धकेलिएको छ।
प्रकाशित मिति: सोमबार, साउन १९, २०७७