अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट २ अन्तरिक्ष यात्रीलाई लिएर अमेरिकी अन्तरिक्ष यान आइतबार पृथ्वीमा सकुशल अवतरण गरेको छ।
अमेरिकाले झन्डै २ दशकपछि पहिलो पटक मानवसहितको अन्तरिक्ष यान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाएको थियो ।
यो अभियान अमेरिकी अन्तरिक्ष केन्द्र (नासा) र अमेरिकी धनाढ्य एलन मस्कले स्थापना गरेको निजी कम्पनी स्पेसएक्सद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको थियो ।
पछिल्लो उपलब्धिले अमेरिकाले अहिले पनि सुरक्षित रूपमा मानवलाई अन्तरिक्षमा पुर्याएर सुरक्षित रूपमा पृथ्वीमा अवतरण गराउने क्षमता रहेको देखाएको छ ।
स्पेसएक्समा यात्रारत २ अन्तरिक्ष यात्री फ्लोरिडा नजिकको समुद्री क्षेत्रमा प्यारासुटमार्फत अवतरण गरेका थिए ।
अमेरिकाले सन् १९७५ मा अपोलो-सोयुज मिसनपश्चात पहिलो पटक समुद्री इलाकामा अन्तरिक्ष यात्रीलाई ओरालेको हो । यस मिसनमा कमान्डर बब बेनकिन र डघ हर्ली सहभागी थिए ।
अन्तरिक्ष अभियान सफल भएकामा नासाका वैज्ञानिकहरुले सन्तोष व्यक्त गरेका छन्। लागत बढेको भन्दै अमेरिकाले केही वर्षदेखि मानव अन्तरिक्ष अभियान स्थगित गरेको थियो ।
२ महिनाअघि अन्तरिक्ष यान प्रक्षेपणको अवलोकन गर्न फ्लोरिडा पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अभियान सफल र सुरक्षित रुपमा सम्पन्न भएकामा बधाई दिएका छन्।
सन् २०११ मा अन्तिम अन्तरिक्ष यान प्रक्षेपण गरेको अमेरिकाले अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाउन रूसको सहायता लिन थालेको थियो ।
प्रकाशित मिति: सोमबार, साउन १९, २०७७