काठमाडाैं । सिन्धुपाल्चोकको मेलम्ची बजारमा आइतबार राति आएको पहिरोमा परी बेपत्ता भएका ८ जनामध्ये ७ जनाको शव भेटिएकाे छ भने १ जनाकाे खाेजी जारी छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार भेटिएकामध्ये २ जनाकाे पहिचान भएकाे छ । प्रहरीले जनाए अनुसार वीरगन्ज निवासी प्रदीप चौरसिया र राजेश चौधरीको शव पहिचान भएको छ भने अन्य मृतकको पहिचान हुन बाँकी छ ।
पहिरोमा वीरगन्जका ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदीप चौरसिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र भारतीय नागरिक राजेन्द्र चौधरी पहिरोमा पुरिएका थिए ।
पहिराेमा परी पुरिएका ९ जनामध्ये प्रहरीले घटनास्थलबाट १ भारतीय नागरिक बारु साहलाई जीवितै उद्धार गरेको थियो । उद्धार गरिएका साहकाे मेलम्चीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडाैं पठाइएको वडाध्यक्ष रुद्रप्रसाद दुलालले जानकारी दिए ।
मेलम्ची बजार नजिकैको एउटा घरमा सुतिरहेका बेला उनीहरु पहिरोले पुरिएका हुन् । उनीहरु वाग्मती प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्ड हलका लागि खटिएका कामदार हुन् ।
यसैबीच सिन्धुपाल्चोककै पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर २ बरुवामा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती लक्ष्मी छिन् । गएराति करिब २ बजेतिर आएको पहिरोले उनीहरुलाई पुरेको थियो ।
प्रकाशित मिति: सोमबार, साउन १९, २०७७