झापा । कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिदै गएसँगै झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको छ ।
आइतबार राति १२ बजेदेखि लागू हुने गरी लकडाउनको गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । बिर्तामोडमा समेत कोरोना संक्रमणको जोखिम बढेपछि लकडाउन गर्ने निर्णय गरेको नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए ।
आइतबार नगरपालिकामा बसेको सर्वपक्षीय आकस्मिक बैठकले स्वास्थ्य क्षेत्र बाहेकका सबै उद्योग व्यवसायहरू पूर्ण बन्द गर्ने, लामो दूरीका सवारीलाई भने बिर्तामोडमा रोक्न नदिई सिधै गन्तव्यतर्फ जान दिने निर्णय भएको छ ।
त्यसैगरी अत्यावश्यक खाद्यलगायतका ढुवानी गर्ने साधनलाई चल्न दिइने भएको छ । त्यसमा स्वास्थ्य सुरक्षालाई उच्चतम ध्यान दिनुपर्ने नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए ।
बिर्तामोडमा संक्रमितसँगको ट्रेसिङ, टेस्टिङ गर्न अर्को सूचना प्रकाशित नहुन्जेलका लागि लकडाउन हुने बताइएको छ । यस्तै निजी तथा सार्वजनिक सवारी साधनलाई नगर क्षेत्रमा पूर्ण रुपमा निषेध गरिने छ ।
यसैबीच बिहान ८ बजेदेखि ११ बजेसम्म खाद्यान्न, दूध, तरकारी लगायतका पसलहरु सञ्चालन गर्न दिइने जनाइएको छ । कसैले लकडाउनको उल्लघन गरेमा कानुन अनुसार कारबाही गरिने बताइएको छ ।
प्रकाशित मिति: आइतबार, साउन १८, २०७७