चितवन । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएको भनिएका पूर्वी चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको शव परिवारले बुझेको छ ।
नेपाल चेपाङ संघका पूर्व अध्यक्ष गोविन्दराम चेपाङका अनुसार राजकुमारको शव हिजो साँझ ६ बजे काठमाडौंबाट बुझेर आज बिहान चितवन ल्याइएको हो ।
जिल्ला प्रशासन कार्यालयमा शुक्रबार भएको सर्वपक्षीय बैठकले पीडितको माग सम्बोधन गर्ने निर्णय गरेपछि परिवारले शव बुझेको उनले बताए ।
त्रिवि शिक्षण अस्पताल काठमाडौंमा रहेको शव परिवारले चितवन ल्याएको छ। राजकुमारको शव परीक्षण त्रिवि शिक्षण अस्पतालमा गरिएको थियो ।
सर्वपक्षीय बैठकले चेपाङलाई कुटपिट गर्नेलाई कानुनी दायरामा ल्याई आवश्यक कारबाही गर्ने पहिलो निर्णय गरेको छ।
बैठकले राजकुमारकी छोरीलाई भरणपोषण र छात्रवृत्ति रकम नियमितरूपमा उपलब्ध गराउने, मृतकको घर निर्माणमा आवश्यक वन पैदावर, कच्चापदार्थ र श्रमसमेत निःशुल्क उपलब्ध गराउने, राजकुमारको परिवारलाई राहतस्वरूप १० लाख रकम उपलब्ध गराउने र शव परिवारले बुझि अन्त्येष्टि गर्ने निर्णय भएको बैठकमा सहभागी नेपाली कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले बताए।
यही साउन १ गते राप्ती नदीमा माछा मार्न गएका राजकुमारसहित ५ जनालाई निकुञ्ज सुरक्षार्थ खटिएका सैनिक जवानले कुटपिट गरेको परिवारको आरोप छ । कूटपिटबाट घाइते भएका राजकुमारको अवस्था जटिल बन्दै गएएपछि यही साउन ७ गते थप उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो ।
राजकुमारको उपचारकै क्रममा सोही राति मृत्यु भएको थियो । मृत्युपछि परिवारले शव बुझ्न अस्वीकार गरेको थियो । मृतक राजकुमारको चेपाङ संस्कार अनुसार गड्यौलीमा अन्त्येष्टि गरिने भएको छ ।
प्रकाशित मिति: आइतबार, साउन १८, २०७७