काठमाडौँ । नेपाली सेनाभित्र काबिल अधिकृतको रुपमा आफ्नो पहिचान बनाउन सफल रथी ईश्वर हमालले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत फोर्स कमान्डरको जिम्मेवारी सम्हालेका छन् ।
राष्ट्रसंघीय शान्ति मिसनभित्र निकै प्रतिष्ठित पदका रुपमा लिइने फोर्स कमान्डरमा यसअघि विभिन्न चरणका परीक्षा पास गर्दै हमाल नियुक्त भएका थिए । केही समयअघि उपरथीबाट रथीमा बढुवा भएका हमाल लामो समयदेखि नेपाली सेनाको महत्वपूर्ण भूमिका सफल रुपमा निर्वाह गर्दै आइरहेका थिए ।
फोर्स कमान्डरमा नियुक्त भएलगत्तै जुलाई १० मा जिम्मेवारी सम्हाल्न पुगेका रथी हमाल कोरोना महामारीका कारण १४ दिनको क्वारेन्टाइन बसाइपछि औपचारिक जिम्मेवारी ग्रहण गर्न पुगेका हुन् । जिम्मेवारी हस्तान्तरण कार्यक्रममा कमान्डर हमाललाई गार्ड अफ अनर समेत प्रदान गरिएको छ ।
जिम्मेवारी ग्रहण गर्दै कमान्डर हमालले मिसनको उद्देश्य अनुरुप सबैले आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह समेत गरेका छन् । मिसनको क्षेत्राधिकारमा दत्तचित्त भएर लाग्न र जिम्मेवारी पूरा गर्न पनि सबैलाई हमालले आग्रह गरेका छन् ।
नेपाली सेनाको लामो क्यारिअरमा विभिन्न जिम्मेवारी निर्वाह गरेका हमाल सेनाभित्रका सबैजसो आन्तरिक मूल्यांकनमा अब्बल रहने गरेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडलका अनुसार हमाल सेनाभित्रका निकै काबिल अधिकारी हुन् ।
शान्ति मिसनमा सहभागी हुने जुनसुकै मुलुकका सुरक्षा अधिकारीका लागि आकर्षक पदका रुपमा रहेको फोर्स कमान्डरमा सफल भएका हमाल सेनाका लागि मात्रै होइन मुलुककै लागि गौरव गर्न लायक व्यक्ति भएको पौडेलले जनाएका छन् ।
लामो समय सैनिक अपरेसनमा रहेर सैनिक रणनीतिक कौशलबारे जानकार रहेका हमाल सो विभागको निर्देशकको रुपमा समेत कार्य गरिसकेका छन् । अमेरिकी वार कलेजबाट रणनीति अध्ययनमा स्नातकोत्तरको डिग्री लिएका हमालले त्रिभुवन विश्वविद्यालयबाट पनि पब्लिक एडमिनिस्ट्रेसनमा स्नातकोत्तरको उपाधि हासिल गरिसेकका छन् ।
फोर्स कमान्डरको जिम्मेवारी शान्ति मिसनमा सहभागी हुने सुरक्षा निकायले मनोनयन गर्ने नभई राष्ट्रसंघीय मिसनले लिने परीक्षामा प्रतिस्पर्धाबाट छानिनुपर्ने प्रावधान छ । सो प्रतिस्पर्धामा मिसनमा सहभागी हुने देशका सैनिक अधिकरीहरु सहभागी हुने गर्छन् ।
सेनाको आन्तरिक र बाह्य कुनै पनि प्रतिस्पर्धामा सधैँ अब्बल स्थानमा रहँदै आएका हमालको फोर्स कमान्डर नियुक्ति मुलुककै लागि गौरवको विषय भएको रक्षा मन्त्रालय स्रोतले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन १८, २०७७