विश्व जगत नै गाउँ सरह सानो घेरामा संकुचित भएको छ । कुनै पनि देश पूर्ण स्वतन्त्र र आफू खुशी चल्न नसक्ने आपसी निर्भरतामा फस्दै गएका छन् । जतिसुकै स्वाभीमानी र आर्थिक समृद्ध मुलुक पनि कुनै न कुनै कारणले एक अर्कोसित जोडिन बाध्य छन् । नेपालको भौगौलिक तथा आर्थिक दृष्टिले बाध्यात्मक स्थितिले प्रायः नेपाली राजनीतिक नेताहरु इन्डियासित राम्रो सम्बन्ध बनाउन चाहन्छ ।
भारतबाहेक तेस्रो देशका शासक तथा नेताहरुसंग पनि समदूरीमा काम गर्न चाहन्छन् । यसो गर्दा नेपाली नेताहरुलाई छिमेकी तथा विदेशीको स्वार्थमा चल्दछन् । आफ्नो राष्टको हितमा कुनै अडान राख्दैनन् भन्ने आरोप सुनिन्छ । हरेक गतिविधिमा दक्षिणको छिमेकी इन्डियासंग लेनदेन, सहमति, सम्झौता र सन्धि गर्दा नेपाल चुकेको र हारेको उदाहरण दिइन्छ । नेपालका नेताहरु इन्डियासंग प्रत्यक्ष र अप्रत्यक्ष कसरी फस्ने गरेका हुन् ? सबै राजनीतिक घटना विवरणहरु बजारमा उपलब्ध पछिल्ला नेपाली तथा इन्डियन लेखकका पाठ्यसामग्री तथा पुस्तकहरुले प्रमाणसहित उजागर गरिरहेका छन् । इन्डियनको ठूलदाइ प्रवृत्ति र नेपालीको आदेश पालक मानसिकता दर्शाउने ती पुस्तकमा लगाइएका आरोपको खण्डन कुनै नेपाली नेताहरुले गरेको पाइँदैन ।
वि.स. २००७ सालदेखिको इन्डियाको शंकास्पद गतिविधिका विपक्षमा डटेर मुकाविला गरेर मुद्दा सुल्ट्याउनुको सट्टा २०६२ सालमा १२ बुँदे सम्झौता नेपालका राजनीतिक दलहरुले फेरी दिल्लीमा नै गरे । इतिहासकाल देखिको राजनीतिक बाध्यताको साँवा व्याज तिर्दै आएको नेपाली राजनीति गणतन्त्र कालमा इन्डियाको बोझ बोक्न अझ धेरै बाध्य बनाइयो । यिनै पक्षले नेपालको स्वाभीमान कमजोर भयो र यसलाई राजनीतिक तथा प्रशासनिक रुपमा सच्याउनु पर्दछ भन्ने दृष्टिकोण यो लेखबाट प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
षडयन्त्रकारी राजनीति : २००७ साल ताक राजा, राणा र प्रजातान्त्रिक त्रिकोणात्मक शक्ति संघर्ष थियो । वि.स. २००८ देखि राजा, नेका तथा नेकपा पार्टी नेताहरुबीचको अन्तरसंघर्ष चुलियो । २०१५ सालको पहिलो आम चुनावले राजनीतिक निकास दिएर नेकाको दुईतिहाइको सरकार बनाए पनि राजाले पचाएनन् र २०१७ साल पुष १ को कुराजनीतिक घटनामा मुलुकलाई प्रवेश गराए । कुराजनीतिक भूमरीमा फसेको नेपाली राजनीतिलाई राजाले सच्याउन, प्रतिबन्धित राजनीतिक पार्टीहरु नेपाली काँग्रेस र नेकपाका विभिन्न समूहका शक्तिहरुले आ आफ्नै किसिमले संघर्ष गरिरहे ।
षडयन्त्रकारी राजनीतिको सन्तुलनको विश्वासिलो मियो स्पष्ट भएन । बलियो राजतन्त्रको शक्तिलाई नेपाली राजनीतिक दलहरुले २०४६ सालमा संसदीय संवैधानिक प्रणालीमा बाँधे । राजा, संसदवादी र जनयुद्धमा होमिएको तत्कालीन माओवादी त्रिकोणात्मक शक्ति संघर्षलाई विराम दिदैँ २०६५ जेठमा राजशाहीको बिदा गरे यो कार्य नेपालीहरुले आफ्नो स्वविवेक वा षडयन्त्रमा परेर गरे ? राजनीतिक विश्लेषण, समीक्षा हुन बाँकी नै छ ।
कथनी र करणीमा फरक राजनैतिक बेइमानी : राजनैतिक पार्टीहरुको राजनैतिक नारा आकर्षक हुन्छन् । नेपालको पूर्ण स्वाधीनता, सार्वभौमिकताको पूर्ण सुरक्षा मुख्य हुन्छ । भाडामा नागरिक नबेच्ने, देशको अपमानजनक पहिचान बनेको गोरखा भर्ती केन्द्र बन्द गर्ने । सस्तो मूल्यमा नेपाली नागरिकलाई विदेश निर्यात नगर्ने । दक्ष, सिप मूलक तालिम प्रशिक्षण दिएर महंगो ज्यालादारीमा विदेशमा जनशक्ति पठाएर रेमिट्यान्स दर उच्च बनाएर देशको कायापलट गर्ने नाराहरु प्रशस्त घन्काइए । शासकीय प्रवृत्तिमा पूर्ण बदलाव ल्याएर भ्रष्टाचार अन्त गर्ने तथा पारदर्शी सुशासन कायम गर्ने थियो । यस्ता पवित्र उद्घोषका साथ नेपालमा धेरै राजनीतिक समूहहरु जन्मिए, एकीकृत हुँदै राजनीतिक पार्टीको आकारमा स्थापित भए पनि भए । तर सत्ता र शक्तिमा पुग्नासाथ करनी र करणीमा राजनैतिक बेइमानीमा प्रश्रय भयो ।
असंस्कारित राजनीतिको प्रतिफल : झण्डै ३० वर्षको राजनीतिक निरंकूश पञ्चायती व्यवस्था चलिरह्दा प्रजातन्त्रका योद्धा विपि कोइराला र पुष्पलाल श्रेष्ठ जस्ता त्यागी र नैतिकशील नेताहरुले एकजुट हुने सुझबुझको संस्कारित राजनीतिको जग बसाल्न सकेनन् । नेपालका राजनीतिक शक्ति नेपाली कांग्रेस र नेपालका कम्युनिष्टहरु राजनीतिक मुद्दामा कहिल्यै एक ठाउँमा आउन सकेनन् र निरंकूश पञ्चायतलाई ढाल्न असफल भइरहे । यी दुवै शक्ति नेका र नेकपाले राजदरवार, पञ्चायतलाई झैँ आफूहरुलाई पनि उस्तै दूरीमा राखे ।
हुनुपर्ने द्विकोणात्मक तर त्रिकोणात्मक संघर्ष गरिरह्दा आपसमा भिडेर राजालाई नै बलियो हुने अवसर मिल्यो । यी परिवर्तनकारी ठानिने नेका र कम्युनिष्टहरुले एक आपसमा आफूलाई दूरी र शंकामा राखेर निषेधको फोहरी र असंस्कारित राजनीति गरिरहे, यसको फाइदा मुलुकभित्र राजा र बाहिर इन्डियाले लिइरह्यो । नेपालको राजनीतिमा कवि भूपिशेरचनको दूरदर्शी कविताको प्रभावकारिता सधैँ प्रयोगमा आइरह्यो । दुर्भाग्य, इन्डियन शासकको नेपालको राजदरवारसंगको वैयक्तिक वैमनस्यता वा इगोले राजनीतिक असमझदारीको उग्र रुप लियो । नेपालको सत्ता पतनको स्टाइकरको भूमिकामा इन्डियन सत्तापक्ष बलियो बन्यो । नेपाल देशको आर्थिक परिस्थिति र जीवन निर्वाहको पर निर्भरताको कमीकमजोरी भूपरिवेष्टितता नै हो । यी पक्षमा हाम्रो एकाधिकार छ भन्ने हैसियतमा भएको इन्डियाले नाकाबन्दीको अचुक अस्त्र अपनायो ।
स्वार्थी राजनीतिको दुष्परिणाम : नेपालका राजनीतिक शक्तिहरुले आन्तरिक संघर्षलाई थाती राखेर इन्डियाको विरुद्ध उठ्नुको सट्टा पञ्चायत र राजालाई ढाल्ने उपयुक्त समय र उपाय यही हो भन्ने ठाने । विदेशीको षडयन्त्रका शिकार भए र नेपाल राजनीतिक चक्रव्यूहमा नराम्ररी फस्यो । राजाको रिस र पञ्चहरुको डाहले राष्टियता, सार्वभौमिकता र वैदेशिक कुटनीति सबै बिर्सियौँ । देशकै राजधानी क्षेत्रपाटीमा राजा र पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा विदेशीलाई मञ्च दियौँ । स्वदेशी राजनीतिक नेता र प्रतिबन्धित पार्टीहरुका पक्षमा वकालत गर्ने तथा राजा र पञ्चायतलाई ठेगान लगाउने धम्की दिने इन्डियन राजनैतिक पार्टीका नेताहरुलाई प्रोत्साहित ग¥यौँ । देशभित्रकै राजा तथा प्रधानमन्त्री मरिचमानहरुलाई शत्रु ठान्यौँ । फलत : त्यसरी आएको प्रजातन्त्रबाट देशले हा¥यो वा जित्यो ? तर नेपाली जनता र सार्वभौमिकताले हारेको स्पष्ट हुन्छ ।
अदूरदर्शीताको संकट वैदेशिक हस्तक्षेपमा वृद्धि : नेपाली राजनीति तथा नेताहरु विदेशी प्रपञ्च वा इन्डियाको जालमा चुकेका केही उदाहरणहरुलाई यसरी प्रस्तुत गर्न सकिन्छ ।
१) भुटान र नेपालका बीचमा खुला सिमा जोडिएको छैन । भुटानबाट खेदिएका भुटानी नागरिकहरुको नाता नेपाली भाषी हुनु मात्र हो । तिनीहरु इन्डियाको बाटो भएर लाखौँका संख्यामा नेपालमा शरणार्थीका रुपमा आएका हुन् । तर इन्डियाले भुटानसंग वार्ता गर्ने र ती शरणार्थीहरुलाई भुटान फर्काउनेमा कुनै पहल, सहयोग गरेन । लाखौँ शरणार्थीका बारेमा केही चाल नपाएझैँ, केही गतिविधि नभएझैँ, इन्डियाबाट शरणार्थी आएका होइनन् । भुटानीहरु नेपालमा आकाशबाट आफैँ टप्केका हुन् वा नेपालले झुट्टा प्रपञ्च गरेको हो । यस्तै असहयोगी र अमानवीय व्यवहार ग¥यो । झण्डै तीन दशकदेखि नेपाल भुटानी शरणार्थीको पिडामा छ । वर्षौँ नेपालमा बसेर कतिपय भुटानीहरु अमेरिका लगायत दर्जनौँ पश्चिमा, युरोपियन देशहरुमा व्यवस्थित भए । हजारौँका संख्यामा भुटानीहरु आज पनि नेपालका शरणार्थी शिविरमा छन् ।
२) नेपालको आन्तरिक मामिलामा अमेरिकी राजदूत जुलियाचांग लगायतका प्रतिनिधिहरु, युरोपियन समूहका मोरियार्टी लगायतका प्रतिनिधिहरु, संयुक्त राष्टसंघीय एजेन्सीहरुका प्रतिनिधिहरु, इन्डियन राजदूतहरु केभी राजन, श्यामशरण, राकेश सूद, जयशंकर जस्ता विविध प्रतिनिधिहरुको नेपाली भूमिमा भएको गैरकुटनीतिक नांगो नाचलाई लिन सकिन्छ । यी राजनैतिक प्रतिनिधिहरुको सक्रियता, नेताहरुको भान्सादेखि शयनकक्षसम्मको यात्रा, रायसुझाव र सल्लाहमा विश्वबजार खुला, उदारीकरण, निजीकरण र देशलाई परनिर्भर तुल्याउने काम भए । विश्व श्रमबजारमा नेपालीलाई सस्तो मूल्यमा बेच्नेसम्मको जघन्य अपराध गरियो र रेमिट्यान्सका भरमा शासन चलाउने, लुटतन्त्र मच्याउँने फोहरी राजनीति भइरह्यो, विदेशी हस्तक्षेपलाई प्रश्रय आफ्नै क्रियाकलापबाट दिइयो ।
३) प्रजातान्त्रिक र गणतान्त्रिक अधिकारका नाममा राज्य संयन्त्र, प्रशासन क्षेत्र जतासुकै राजनीतिक पार्टी अनुसारका द्रेडयुनियनहरुलाई स्थापित गराइयो । सरकार र प्रत्यक्ष सरोकारवालाका बीचमा भ्रष्ट बिचौलियाहरुको दिवार खडा गरियो । उनीहरुको डन संस्कारको बिगबिगीले राजनीति, प्रशासन, शैक्षिक सबै क्षेत्रलाई राजनीतिक जलप दिएर गिजोलियो र देशका राज्य संरचनाहरुलाई ध्वस्त पारियो ।
४) विदेशी कुटनीतिज्ञहरु नेपालको राजनीति र प्रशासनमा हावी हुन थाले । एनजिओ, आइएनजिओ, विकासका लागि आर्थिक सहयोग, नेपाली जनताहरुका बीचमा विभेदका वास्तविकता र बनावटी मुद्दाहरुमा जबर्जस्त तानेर समुदाय, सम्प्रदायमा वास्तविक तथा अवास्तविक किचलो उठाएर देशलाई विग्रहमा हालेर फाइदा उठाउने र मध्यस्थता गर्ने कार्य हुन थाले, उनीहरु निर्णायक हुने गरे ।
५) सिंहदरवारदेखि स्थानीय तहसम्म, व्यवस्थापिकदेखि न्यायपालिकासम्म, कार्यपालिकादेखि संवैधानिक आयोग तथा निकायहरुसम्म उच्च पदस्थ नेता रिझाउन, वैदेशिक भ्रमण गराउन डलरका खेती एनजिओ, आइएनजिओका नाममा हुन थाले । उनीहरुले कार्यालय सहयोगीदेखि प्रधानमन्त्रीसम्म, राजनीतिक पार्टीका स्थानीय तहका सदस्यदेखि सर्वोच्च नेतासम्मलाई वैयक्तिक स्वार्थका आवश्यकताका माखेसाङ्लोमा फसाएर सबै सूचना र गुदीहरु प्राप्त गर्न थाले ।
६) सार्वजनिक क्षेत्रमा डलर सुविधा खाने र नखानेको बिचमा विभेदको दिवार खडा गरियो । चाडपर्वमा नीतिनिर्माता तथा कार्यान्वयन तहका जिम्मेवार पदाधिकारीहरु कहाँ आकर्षक उपहारका प्याकेज लिएर पस्न सके,थाले र बिचौलियाहरुले सबैलाई राजनीतिक समर्थकको आवरण दिएर शक्ति केन्द्रमा स्थापित गराए, त्यो अभ्यासले आज पर्यन्त निरन्तरता पाएको छ ।
माथिका केही दृष्टान्तले नेपाल देशले हारेको हारै छ । तापनि परिवर्तनकारी नेताहरु, उनका परिवार, आसेपासेहरुले चाहिँ जितेको जितै छन् । उनका सन्तानहरुले देशविदेशमा राम्रो शिक्षादीक्षा पाएका हुन सक्छन् । कतिपय उतैका नागरिक पनि भएका होलान् । नेपाल निर्माणका कालदेखि आजतक यो देशलाई बन्धक राखेर मर्नेहरु तथा नमरेपनि अहिलेसम्म बाँचेकाहरुको इतिहास समीक्षा गरिनु पर्दछ । तर कुनै लेखाजोखा नहुनाले मुलुक लुट्ने र स्वर्गको राज चलाइरहेका अपराधीहरुमा जवाफदेहिता छैन र हौँसिएर कुशासन चलाइरहेका छन् । यसरी आफ्ना लागि र आफ्नाका लागि सबै नेताहरुले जितिरहेका देखिन्छन् तर देशले हरेक पक्षमा हारिरहेको पाइन्छ ।
वैयक्तिक स्वार्थमा दूरदर्शी राजनीतिक चेतनाको अभाव र मुलुकको सार्वभौमिकतालाई च्याँखे थाप्ने अदूरदर्शी नेतृत्वको दवदवा छ । यस्तो देशमा के विकास र समृद्धि होला ? जनताको सामाजिक न्याय र देशभक्तिको धारणामा कठिन घडी सिर्जना भएको छ । देशभित्र सामान्य रोजीरोटीको व्यवस्था नहुँदा अपमानजनक विदेशिने नागरिकको देशभक्ति परीक्षण हुने पिडादायी दुरावस्थामा राष्टिय स्वाभीमान र स्वाधीनता कहाँ खोज्न जाने ? यसर्थ सर्वप्रथम नेपाल, नेपाली तथा राजनैतिक नेतृत्वले सबै पक्षमा गहन विचार र विश्लेषण गरी मुलुकको यथार्थता आत्मसमीक्षा गरेर योजनासाथ आफ्नै खुट्टामा उभिने साहस र योजनासाथको कार्यक्रम अति आवश्यक छ । अन्यथा देशलाई बलियो बनाइ राख्न कठिन लाग्दछ । मौकामा चौका हान्ने र राजनीतिक नारा छोडेर काम गरेर देखाउँने नेतृत्वको खाँचो मुलुकलाई आवश्यक छ ।
प्रकाशित मिति: शनिबार, साउन १७, २०७७