काठमाडौं । पर्वत र बागलुंग जिल्ला जोड्न निर्माण गरिएको विश्वकै लामो झोलुंगे पुल औपचारिक रुपमा खुला गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय पूर्वाधार विभाग मातहत सस्पेन्सन ब्रिज डिभिजनले शुक्रबारदेखि ५ सय ६७ मिटर लामो पुल सर्वसाधारणका लागि खुला गरेको हो । डिभिजनका योजना प्रमुख इन्जिनियर कुमार थापाका अनुसार स्विटजरल्यान्डको चाल्र्स कोनेन झोलुंगे पुल ४ सय ९४ मिटरभन्दा ७३ मिटर लामो पुलले पर्वत र बाग्लुंग जिल्लालाई जोड्ेको छ ।
स्थानीय पाङबाट बाग्लुङको बांगेचौरसँग जोडिएको पुलले सो क्षेत्रको पर्यटकीय, धार्मिक, आर्थिक, सामाजिक र शैक्षिक गतिविधिलाई सहज बनाउने इन्जिनियर थापाको भनाइ छ । डिभिजनले मुलुकभर लामो र विशिष्ट प्रकारको झोलुंगे पुल निर्माण गर्दै आएको बताएका थापाले हाल निर्माण गरिएको पुल विकास निर्माणका क्रममा मुलुकमै फरक पहिचान बनाउन सफल भएको बताए ।
यो पुल विश्वकै पहिलो लामो झोलुंगे पुल भएको दाबी गर्दै थापाले पुल हेर्न र पर्यटन विकासका लागि समेत यसले भोलिका दिनमा विश्वलाई आकर्षित गर्ने बताए ।
कालीगण्डकी नदीको मालढुंगाको जमिन सहतबाट १ सय ३१ मिटर माथि पुल निर्माण गरिएपछि दुवै जिल्लामा पैदल आवतजावतका क्रममा लाग्ने समय कटौती भएको छ । विगतमा २ जिल्लामा पैदल आहोरदोहोर गर्न घण्टौँ समय लाग्ने गरेको भए पनि पुल निर्माणपछि अब सो यात्रा १५ मिनेटको रोमाञ्चक यात्रा हुनेमा सीमित हुने थापाको भनाइ छ ।
२०७५ फागुनमा २ वर्षभित्र कार्य सम्पन्न गर्ने गरी श्रीथानी, बि.एल.टी, हिमशिखर जेभीसँग निर्माण सम्झौता भएको हो । यसक्रममा २०७६ साल वैशाख १ गते राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाले पुलको शिलान्यास गरेका थिए । १५ महिनाको समयमा निर्माण भई प्रयोगमा आएको पुलमा ३ हजार ५ सय श्रमिकले प्रत्यक्ष रोजगारी पाएका थिए ।
एकपटकमा ६ सय १२ जना पदयात्रीको भार थाम्न सक्ने सो पुल निर्माणका लागि १० करोड ४५ लाख ८० हजार ५ सय ८२ रुपैयाँ खर्च भएको डिभिजनले जनाएको छ ।
पुल निर्माणमा १२ करोड २२ लाख १८ हजार ९ सय ५७ रुपैयाँ खर्च हुने अनुमान गरिए पनि स्थानीय पूर्वाधार विभागबाट २ करोड १८ लाख ७४ हजार र निर्माण कम्पनीको ८ करोड २७ लाख ६ हजार ३ सय ८१ रुपैया खर्च भएको छ ।
यसअघि डिभिजनले ३ सय ५९ मिटर लम्बाईसम्मको एकल स्पान पुलको निर्माण गरेको थियो ।
प्रकाशित मिति: शनिबार, साउन १७, २०७७