विराटनगर । कोरोना संक्रमण समुदाय तहसम्म पुगेपछि मोरङको विराटनगर महानगरपालिकाले २ साता लकडाउन गर्ने निर्णय गरेको छ ।
विराटनगर महानगरपालिका क्षेत्रमा शुक्रबार राति १२ बजेदेखि लकडाउन गरिने भएको हो ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले संक्रमण समुदायमा फैलिएपछि लकडाउन गर्नुपरेको जानकारी दिए।
'अहिले विराटनगरमा मात्र सयभन्दा बढी संक्रमित छन्। त्यसमा पनि ६१ जना संक्रमितको ट्राभल हिस्ट्री छैन । त्यसकारण भोलिदेखि लागू हुने गरी २ साता लकडाउनकाे निर्णय गरिएकाे हो ।'
जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले १४ दिन लामो लकडाउन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
कोरोना तीव्र गतिमा फैलिँदै गएको र त्यसलाई रोक्न लकडाउनको कदम उठाउनु परेको प्रशासनले बताएको छ । यस अवधिमा घरबाहिर निस्किनेलाई पक्राउ गरेर कारवाही गरिने बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७