तनहुँ। जिल्ला समन्वय समितिको नाममा रहेको करिब ३६ रोपनी जग्गा अतिक्रमणमा परेको छ।
व्यास नगरपालिका-३ बिसघरे, देउराली नगरस्थित सबै जग्गा अतिक्रमणको चपेटामा परेको जिल्ला समन्वय समितिले जनाएको छ।
तत्कालीन जिल्ला विकास समिति हुँदा समितिको स्वामित्वमा रहेको उक्त जग्गा वषौँ अघिदेखि अतिक्रमण गरी पक्की घरसमेत निर्माण भइसकेका छन् ।
सदरमुकाम दमौलीमा रहेको उक्त जग्गाको मूल्य उच्च भए पनि अतिक्रमणबाट बचाउन नसकिएको जिसस प्रमुख शान्तिरमण वाग्लेले बताए। साविक फराकचौर ९ ‘ट’को कित्ता नम्बर ३४ मा पर्ने १५ रोपनी तीन आना दुई पैसा तीन दामको र कित्ता नम्बर ३५ को १४ रोपनी छ आना एक दाम क्षेत्रफल रहेको जग्गा वर्षौं अघिदेखि अतिक्रमणमा परेको छ।
त्यसैगरी कित्ता नम्बर २८ को आठ आना जग्गा बह्माकुमार राजयोग संस्था र फराकचौर ९ ‘ग’ कित्ता नम्बर १५९६ मा पर्ने चार रोपनी १४ आना तीन पैसा तीन दाम क्षेत्रफलको तनहुँ उद्योग वाणिज्य सङ्घलाई भोगचलनका लागि दिइएको समितिले जनाएको छ।
विसं २०२५ मा सदरमुकाम बन्दीपुरबाट दमौलीमा सारिएदेखि नै जिससको जग्गा बढी अतिक्रमणमा पर्न थालेको जिल्ला समन्वय समितिका प्रवक्ता गलबहादुर गुरुङले बताए।
हाल १८४ व्यक्तिले अनाधिकृत रुपमा जग्गा भोगचलन गर्दै आएका छन्। रासस
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७