चितवन । चितवनमा बसको ठक्करबाट १ प्रहरी हवल्दारकाे मृत्यु भएको छ ।
पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारामा बा ३ ख १५४७ नम्बरको बसको ठक्करबाट प्रहरी हबल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जानेक्रममा सवार प्रदेश ३–०३–००१प६३२५ नम्बरको स्कुटरलाई बसले बिहीबार साँझ ठक्कर दिएको थियो।
गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।
यसैगरी कोसी राजमार्गअन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–२ मा बिहीबार राति बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
धनकुटाको साँघुरीगढी गाउँपालिका –७ का २९ वर्षीय जोसन भनिने जसबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
दुर्घटनास्थलमा घाइते अवस्थामा भेटिएका राईलाई उपचारका लागि टंकीस्थित विराट मेडिकल कलेज पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा गर्भवती महिलासहित ४ जना घाइते भएका छन्।
दुर्घटनामा भोजपुरको रामप्रसाद राई गाउँपालिकाका–७ का २५ वर्षीय रामकुमार राई र २८ वर्षीया कल्पना राई, रामप्रसाद राई गाउँपालिकाका–१ की ३५ वर्षीय मुना राई घाइते भएका छन् । यस्तै परिचय नखुलेकी अन्दाजी ४० वर्षीया महिला पनि घाइते भएकी छिन् ।
विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ६९५२ नम्बरको सिमोन यातायातको बस ८:३० बजेतिर आरती स्ट्रिप्स अगाडि दुर्घटनामा परेको थियाे ।
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७