संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बौद्ध दर्शनसँग जोडिएको धार्मिक तथा सांस्कृतिक महत्वको पद्यसम्भव पदमार्ग नेपालको पर्यटन विकासका लागि कोसेढुंगा सावित हुने बताएका छन् ।
पर्यटन मन्त्रालयमा आज बारबरा फाउन्डेसनका पदाधिकारी तथा सरोकारवालासँग उक्त पदमार्गको विकासबारेको छलफलमा मन्त्री भट्टराईले सांस्कृति पर्यटको बहुअआयामिक महत्व बोकेको पदमार्गले नेपालमा तिब्बतीयन र चिनियाँ पर्यटक बढाउन तथा उनीहरुको बसाई लम्ब्याउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका हुन् ।
मन्त्री भट्टराईले पद्यसम्भव पदमार्गको विकासका लागि चालु आवको बजेटमा समावेश गरिएको जानकारी दिँदै यसका लागि विस्तृत कार्ययोजनाको तयारीका लागि मन्त्रालयको संस्कृति महाशाखालाई निर्देशन दिएका छन् ।
उनले नेपालको सांस्कृतिक पर्यटनको हिसाबले पनि बुद्धसँग सम्बन्धित सम्पूर्ण अधिकार नेपालको भएको दाबी गर्दै पदमार्ग विकासले अन्तर्राष्ट्रिय सांस्कृतिक पर्यटनको हबको रुपमा विकास हुने बताए ।
उनले भने, ‘बुद्ध धर्मको प्रचार गर्ने प्रमुख गुरु आचार्य पद्यसम्भवले नेपालका विभिन्न स्थलमा भ्रमण गरी विशेष गन्तव्य बनाएका थिए । यसलाई सांस्कृतिक पर्यटकीय पदमार्गको रुपमा विकास गर्न सरोकारवालासँग छलफल गरी विस्तृत कार्ययोजना बनाउछौँ, नेपालको पर्यटन प्रवर्द्धनका लागि यो धेरै ठूलो परिकल्पना हो । यसले लाखौँ तिब्बतीयनलाई आकर्षण गर्ने छ ।’
पुरातत्व विभाव, पर्यटन विकास, लुम्बिनी विकास कोषलगायत स्वतन्त्र व्यक्तिले गरेको अध्ययनलाई पनि एकत्रित गरी सरोकारवालासँग थप छलफल गरी पदमार्गको विस्तृत कार्ययोजना अघि बढाइने उनले बताए ।
तक्सिलामा जन्मिएका तान्त्रिक गुरु पद्यसंभव आठौँ शताब्दीमा नेपाल आएर तपस्या गरिरहेका बेला तिब्बती राजाले उनलाई तिब्बत बोलाएर बुद्धधर्मको प्रचार गर्न लगाएको पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले बताए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राडा रमेशकुमार ढुङ्गेलले पद्यसंभव पदमार्गले अन्तर्राष्ट्रिय सांस्कृतिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी, बौद्ध दर्शन तथा गुम्बा विकास समितिका अध्यक्ष फुपुछेम्बे शेर्पा जिक्डोल, बुद्धिस्ट सर्टिकका अभियानता विक्रम पाँडे काजीलगायतले पदमार्गको अवधारणालाई महत्वपूर्ण पर्यटकीय प्राेडक्टको रुपमा विकास गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, फाउन्डेसनका अध्यक्ष डा सन्दुक रुइत, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेल, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मी लगायतको उपस्थिति थियो ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७