काठमाडौं । केही दिनदेखि मनसुन सक्रिय हुँदा केही स्थानमा भारी वर्षा भएको छ। पछिल्लो २४ घण्टामा देशभर विभिन्न १० स्थानमा अविरल वर्षा भएको छ ।
वर्षासँगै १३ स्थानमा पहिरोका कारण ११ जनाको मृत्यु भएको भने ६ बेपत्ता र १२ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
मनसुन नेपालको पश्चिमी जिल्लामा सक्रिय छ । कालिकोट, बाजुरा, कैलाली, बर्दियालगायत जिल्लामा विपद्जन्य घटना भएका छन्।
कालिकोटमा भने बढी क्षति भएको प्राधिकरणले जनाएको छ। कालिकोटको नरहरिनाथ गाउँपालिका ४ माझगोठीस्थित एक घरमा पहिरो खस्दा २ जनाको मृत्यु भएको छ ।
सोही गाउँपालिका–७ स्थित एक घरमा पहिराे खस्दा अन्य ७ जनाको मृत्यु भएको छ । साथै महावै गाउँपालिका–७ कोडवाडामा माथिबाट ढुंगा खसेर घर थिच्दा २ जना बालबालिकाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
कालिकोटका विभिन्न स्थानमा ५ जना हराइरहेका छन्। सेना र प्रहरी टोलीले पहिरो प्रभावित क्षेत्रमा उद्धार जारी राखेको सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईँले जानकारी दिए ।
उनका अनुसार उद्धारका लागि बुधबारदेखि नै सेनाको हेलिकप्टर आउने बताइए पनि मौसम बिग्रेकाले सफल हुन सकेको छैन।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७