काठमाडौँ । काठमाडाैंकाे कमलादीमा प्रहरीकाे अगाडि १५ किलाे ‘सुन’ भएको झोला फ्याकेर भागेकामध्ये ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
काठमाडौँ प्रहरी परिसरको टोलीले सुन बोकेको गाडीबारे प्रहरीलाई सूचना दिने व्यक्तिलाई पक्राउ गरेको छ भने महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले प्रहरीलाई सूचना दिने अन्य ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पूर्वी नवलपरासीबाट निलेश सखिया, देवान पटेल र विजय पटेललाई नियन्त्रणमा लिएको हो । उनीहरू सबै भारतीय नागरिक हुन् । उनीहरुलाई भारत भाग्दै गर्दा महानगरीय अपराध महाशाखाको टोलीले नवलपरासीबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ परेका देवान पटेल सुन पसलमा सुनको जलप लगाउने कालीगढ हुन् । उनी काठमाडौंको न्युरोडमा परिवारसँग बस्दै आएकाे प्रहरीले जनाएकाे छ । उनका भाइ कौशल पटेललाई पनि प्रहरीले अनुसन्धानको क्रममा नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकामध्ये निलेश प्रहरीको सामुन्ने झोला फ्याँक्ने व्यक्ति भएको प्रहरीले दाबी गरेको छ ।
गत मंगलवार बिहान करिब ९ बजेतिर जाँच गर्ने क्रममा बा ६ च ५५१९ नम्बरको सिल्भर कलरको स्कर्पियोलाई राेक्न खाेज्दा नराेकपछि प्रहरीले उक्त गाडीलाई फलो गरेकाे थियो ।
प्रहरीले पछ्याएकाे थाहा पाएपछि गाडीमा रहेका मानिसले एउटा झोला गाडीबाट बाहिर फालेर भागेका थिए । साे झाेलामा सुन जस्ताे देखिने १५ किलाे पह्ँलाे धातु र २ थान पेस्ताेल रहेकाे प्रहरीले जनाएकाे छ।
तर परीक्षण गर्ने क्रममा १५ किलाेमध्ये आधा केजी सुन र साढे १४ केजी सुनले लेपन गरेको चाँदी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७