कैलाली । कैलालीमा २ दिनदेखिको लगातार वर्षाले ६ हजारभन्दा बढी परिवार डुबानमा परेका छन् ।
उनीहरूमध्ये २ हजार परिवार विस्थापित भएका छन् । डुबानबाट जोशीपुर गाउँपालिका र भजनी नगरपालिका सबैभन्दा बढी प्रभावित भएका छन् । भजनीमा २ हजार १ सय ८० परिवार बाढीबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यस्तै, जोशीपुर गाउँपालिकामा २ हजार ३ सय १५ परिवार डुबानमा परेका छन्। त्यस्तै, जानकी गाउँपालिकामा १ हजार र टीकापुर नगरपालिकामा ८ सय २५ परिवार डुबानमा परेका छन्। टीकापुरमा बाढीले ३० घर भत्किएका छन्।
डुबानमा परेका परिवारको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । विस्थापित परिवारलाई विद्यालय तथा हुलाकी सडकमा राखिएको छ। यस्तै कैलालीमै बाढीमा परी बेपत्ता भएका ३ जनाको खोजी जारी छ।
बाढीमा बगेका कैलालीका ३ जनाको सकुशल उद्धार गरिएको हो भने ३ जना अझै बेपत्ता छन्। कैलालीको भजनी नगरपालिका–८ खौरपुरका ४० वर्षीय ईश्वर शाह, ३३ वर्षीय चक्र विक र जनकपुरका ११ वर्षीय स्केल चौधरी बेपत्ता भएको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक जनक धामीले बताए।
पथरैया र कान्द्रा नदीको बाढी गाउँमा पसेपछि उनीहरू बगेको इन्स्पेक्टर धामीले बताए। हिजो दिउँसो खोलामा बगेर बेपत्ता भएका भजनी–८ कै ४० वर्षीय बलराम चौधरीको उद्धार गरिएको छ। त्यस्तै, सोही वडाकी बिक्की शाही र हेमन्त शाहीलाई पनि प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७