रूकुम । रुकुमपूर्वमा यस वर्षको रक्षाबन्धनमा घरघरमा गएर धागो (डाेराे) बाँध्न रोक लगाइएको छ ।
ज्योतिष परिषद् रुकुम (पूर्व) ले विगतका वर्षहरूमा झैं यस वर्ष घरघरमा गएर धागो बाँध्न नपाइने निर्णय गरेर रोक लगाएको हो ।
रक्षाबन्धनको दिन सबैको घरघरमा गएर धागो बाँध्दा कोरोना सर्ने र सङ्क्रमण फैलने भन्दै यस्तो निर्णय गरेको परिषद्का अध्यक्ष चेताराम उपाध्यायले बताए ।
यही साउन १९ गते परेको रक्षाबन्धनको दिन कोही पनि ब्राह्मण धागो बाँध्नका लागि कसैको घरमा जान नपाइने निर्णय गरिएको हो ।
यसपालिको रक्षाबन्धनमा घरमै दिदीबहिनी, छोरीचेलीले दाइभाइलाई रक्षाबन्धन बाँध्न भनिएको छ ।
ज्योतिष परिषद्ले गरेको यो निर्णयको अटेरी गर्दै कोही कसैको घरमा गएर धागो बाँध्ने काम गरेमा उक्त व्यक्तिलाई २७ दिन क्वारेन्टाइनमा राखिने परिषद्का अध्यक्ष उपाध्यायले बताए ।
जिल्लावासी सबैलाई यसपालिको रक्षाबन्धन घरमै धागो बानेर मनाउन आग्रह गरेको सिस्ने गाउँपालिका–६ का वडाध्यक्षसमेत रहेका परिषदका सदस्य सुधन रेग्मीले बताए ।
रक्षाबन्धन हिन्दू धर्मालम्बी मनाउने र भाइबहिनीबीचको अटुट प्रेमलाई दर्शाउने एउटा पवित्र पर्व हो ।
जिल्लाका ३ वटै गाउँपालिकाका ब्राह्मण समुदायका टोलीले छलफल गरी गरेको यस निर्णयलाई सबैलाई पालना गर्न आग्रह गरिएको छ ।
प्रकाशित मिति: बुधबार, साउन १४, २०७७