काठमाडौंको चन्द्रागिरि नगरपालिका–१३ का ३ घरमा पहिरोले जोखिम पुर्याएपछि सुरक्षित स्थानमा सारिएको छ ।
केही दिनअगाडि परेको अविरल वर्षाबाट वडा नं १३ को बोगटी गाउँमा ३ घरलाई पहिरोको जोखिम बढाएपछि मङ्गलबार ती घरलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।
पछिल्लो समय बाढीपहिरोका कारण देशैभरि ठूलो जनधनको क्षति पुर्याइरहेकाे बेलामा चन्द्रागिरिमा हुन सक्ने बाढीपहिरोको सम्भावित घटनालाई रोक्न नेपाली सेनाको युद्ध कवच गण सीतापाइलाबाट गएको नेपाली सेनाको टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो ।
बोगटी गाउँमा सीता रिजाल, पुष्पराज गिरी र तेजकुमारी पौडेलको घरमा पहिरोले जोखिम पुर्याएपछि स्थानान्तरण गरिएको हो ।
सेनाको टोलीले तीनै घरको खाद्यान्न लत्ताकपडा झिकेर सुरक्षित स्थानमा सारेको छ ।
नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले पहिरोको जोखिममा परेका परिवारलाई अस्थायी रूपमा बस्नका लागि त्रिपाल राखेर घर बनाइएको जानकारी दिए ।
पछिल्लो समय नगरपालिकाले विपद्बाट हुने सम्भावित घटनालाई रोक्नका लागि विपद् व्यवस्थापनको क्षेत्रमा यथेष्ट रकम विनियोजन गरी काम गर्दै आइरहेको छ । रासस
प्रकाशित मिति: बुधबार, साउन १४, २०७७