काठमाडौं । कालिकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमध्ये ७ जना एकैघरका सदस्य हुन् ।
गाउँपालिकाको वडा नम्बर ७ मा मंगलबार राति आएको पहिरोले ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीय बुहारी कुशा, १८ वर्षीय छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बढा र १ वर्षका चरित्र बुढाको मृत्यु भएको हो ।
उनीहरूमध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएकाे पाइएकाे थियाे भने घाइते अवस्थामा भेटिएकी छोरी विमलाको भने उपचार क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
त्यस्तै साेही गाउँपालिकाकाे वडा नम्बर ४ गोठीमा पहिरोले बाले बुढाको घर भत्किँदा बालेकी श्रीमतीकाे मृत्यु भएको छ भने बाले बेपत्ता छन् ।
पहिरोले ४ घर बगाएको छ भने दर्जनौं घर जोखिममा परेका छन् । बस्तीमाथिबाट पहिरो जाने क्रम नरोकिएकाले स्थानीयबासीलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ।
प्रहरीका अनुसार घटनाको विस्तृत विवरण अझै आउन बाँकी छ । राहत र उद्धारका लागि सुरक्षाकर्मी र स्थानीयबासी परिचालित भएकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: बुधबार, साउन १४, २०७७