काठमाडाैं । विषालु च्याउको तरकारी खाँदा जाजरकोटमा एकै घरका ४ जनाको मृत्यु भएको छ । कुशे गाउँपालिका–१ स्याँक्रीका एकै घरका ४ जनाको मृत्य भएको हो ।
यही साउन ९ गते जंगलबाट च्याउ टिपेर ल्याई पकाएर खाएका टेकबहादुर चलाउनेसहित परिवारका ८ जना गम्भीर बिरामी परेका थिए ।
बिरामीमध्ये टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुताको उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालले जनाएकाे छ। टेकबहादुरकी ३ वर्षीया छोरी अञ्जनाको भने यसअघि सोमबार गाउँमै मृत्यु भएको थियो ।
विषालु च्याउ खाएर गम्भीर बिरामी भएका ७ जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि सोमबार नै सुर्खेत लगिएको थियो। बिरामी परेका १ जनाको अवस्था गम्भीर रहेको र ३ जनाको अवस्था सामान्य रहेको डा पौडेलले बताए ।
हाल घरमूली ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय छोरा ललित, ३० वर्षीय बुहारी कल्पना, छोरी पशुपतिको सुर्खेतमै उपचार भइरहेको छ ।
यसैबीच, पाल्पाको रामपुर नगरपालिका–७ मा खीर खाँदा ३४ जना बिरामी परेका छन् । रामपुर ७ मोहटीस्थित मृत्यु संस्कारमा सहभागी भएर खीर खाएकाहरू बिरामी भएको रामपुर अस्पताल पाल्पाले जनाएको छ ।
मोहटीका ओमबहादुर सुनारका बुबाको मृत्यु भएको १३औँ दिनको पुण्यतिथिका अवसरमा पकाइएको खीर खाएका आफन्त र छिमेकी बिरामी परेका हुन् ।
बिरामीको अहिले रामपुर अस्पतालमा उपचार भइरहेको छ । सबै बिरामीलाई अस्पतालमा भर्ना गरी उपचार गरिएको रामपुर अस्पतालका सूचना अधिकृत रामप्रसाद कोइरालाले जानकारी दिए ।
अधिकृत कोइरालाका अनुसार ‘फुड प्वाइजन’का कारण बिरामी परेको र बिरामीमा बान्ता हुने, ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने र पेट दुख्ने लक्षण देखिएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७