काठमाडाैं । लगातारकाे वर्षापछि आएकाे बाढी पहिराेले देशैभर ठुलाे जनधनकाे क्षति पुर्याएकाे छ ।
मंगलबार दार्चुलाको दहुँ गाउँपालिका–३, सल्लीमा पहिरोले घर पुरिँदा २ जना बेपत्ता भएका छन् भने १ जनाले भागेर ज्यान बचाएका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार राति खसेकाे पहिरोले पुर्दा घरमा रहेका ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीया श्रीमती इन्द्रा बेपत्ता भएका हुन् ।
उनीहरूका २१ वर्षीय छोरा सुनिल भने भागेर जोगिएका छन् ।
यसैगरी कालिकोटमा खोलाले घर बगाउँदा ५ जना बेपत्ता भएका छन् भने १ जनाको शव फेला परेको छ।
बेपत्ता हुने ५ मध्ये ४ जना एकै परिवारका हुन् । नगरपालिकाको बडलतोला भन्ने स्थानमा रहेको जयबहादुर शाहीको घर बगाउँदा उनीसहित उनका २ छोरा, १ छोरी र १ अर्की उनका आफन्त नाता पर्ने बालिका बेपत्ता भएका छन् । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाकारी दिएकाे छ ।
त्यस्तै रास्कोट ९ मा पहिरोले १ घर र कर्णाली करिडरको पुल समेत बगाएको छ ।
यता पाल्पामा मंगलबार बिहान गएको पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा पुरिँदा रम्भा गाउँपालिका-१ असर्दीका ३० वर्षीय दिनेश अर्यालको मृत्यु भएको हो ।
खेतमा काम गर्न जाँदै गर्दा आएको पहिरोले बगाएर उनलाई १० मिटर तल पुर्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
याे पनि : पहिरोमा परी बागलुङमा ४ जनाको मृत्यु
यता रुकुम पश्चिमकाे बाँफिकोट गाउँपालिका–९, स्यालामा पहिरोले १ घर बगाउँदा २ जनाको मृत्यु भएको छ ।
अविरल वर्षापछि आएको पहिरोले स्थानीय जसवीर कामीको घर बगाएको हो । पहिरोले घर बगाउँदा जसबीरका २२ वर्षीय छोरा नवीन विक र छिमेकी हस्तबहादुर सुनारका १६ वर्षीय छोरा बलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीका अनुसार हस्तबहादुरकी आमा ६० वर्षकी झुपी र श्रीमती २२ वर्षकी ब्युझना, छोरीहरु ५ वर्षकी कोपिला र ३ वर्षकी रितुको उद्धार गरेर सुरक्षित स्थानमा सारिएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७