काठमाडाैं । मंगलबार देशभरका अधिकांश स्थानमा मंगलबारको मौसममा आंशिक बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
देशभर हाल मनसुनी वायुको प्रभाव छ । साथै नेपालको तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबीच बाढी पूर्वानुमान महाशाखाले पछिल्लो ६ घण्टामा धनकुटा र आसपास अति भारी वर्षा भएकाले त्यस क्षेत्रमा बाढी आउन सक्ने जनाएको छ ।
धनकुटा आसपासका साना खहरे खोलामा आकस्मिक बहाव हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरो जान सक्ने उल्लेख गर्दै महाशाखाले कोसी राजमार्ग र आसपास यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ ।
यस्तै चितवन जिल्लाकाे माडी क्षेत्र कल्याणपुर र आसपास पछिल्लो १ घण्टामा अतिभारी वर्षा भएको महाशाखाले जनाएकाे छ ।रिउखोलामा आकस्मिक बाढी आई जलसतह सतर्कता तहसम्म पुग्न सक्ने, भएकाले रिउखोलाको नदी तटीय क्षेत्रमा दिउँसो १ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ ।
साउन १३ गतेदेखि १५ गतेसम्म गण्डकी, कर्णाली, सुदूरपश्चिम र मध्यपहाडी भेग भई बग्ने नदीमा जल सतह उच्च हुने छ ।
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७