पाेखरा । गण्डकी प्रदेशमा यस वर्ष मनसुन सुरु भएता बाढी-पहिराेका कारणबाट ७८ जनाको मृत्यु भएको छ। तीमध्ये ४० महिला र ३८ पुरुष छन्।
प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार गत बैशाख महिनादेखि प्राकृतिक विपत्तिमा परी ८ जना बेपत्ता छन् भने ६८ घाइते भएका छन्।
प्रदेशका ११ जिल्लामध्ये बाढी पहिराबाट म्याग्दीमा सबैभन्दा बढीले ज्यान गुमाएका छन्। म्याग्दीमा १६ महिला र १५ पुरुषको मृत्यु भएको छ भने ४ महिला बेपत्ता छन्।
त्यसैगरी तनहुँमा ८ महिला र ३ पुरुषको मृत्यु तथा १ बेपत्ता छन्। कास्कीमा ५ पुरुष र ५ महिला गरी बाढी-पहिराेका कारणबाट १० जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए।
लमजुङमा १ महिला तथा ३ पुरुष, स्याङ्जामा १ महिला र ४ पुरुषको मृत्यु तथा १ पुरुष बेपत्ता छन्। गोर्खामा १ महिला र १ पुरुषको मृत्यु तथा अर्का १ पुरुष बेपत्ता छन्।
पर्वतमा ६ महिला र ३ पुरुषको मृत्यु भएको छ भने नवलपरासी पूर्वमा १ महिला र १ पुरुषले ज्यान गुमाएका छन्। बागलुङमा १ महिला र १ पुरुषको मृत्यु भएको छ भने अर्का १ पुरुष बेपत्ता छन्।
प्रदेशका मनाङ र मुस्ताङमा भने हालसम्म प्राकृतिक विपत्तिका घटनाबाट मानवीय क्षति नभएको बताइन्छ।
कास्कीमा ७ महिला र ५ पुरुष गरी १२ जना पहिराेमा परी घाइते भएको प्रनाउ रेग्मीले जानकारी दिए। त्यसैगरी लमजुङमा ११ महिला र १२ पुरुष गरी २३ तथा म्याग्दीमा ६ महिला र ७ पुरुष गरी १३ जना घाइते छन् ।
स्याङ्जामा ८ पुरुष र २ महिला, तनहुँमा ३ महिला तथा ४ पुरुष, पर्वतमा १ पुरुष र बागलुङमा १/१ महिला पुरुष बाढी-पहिराेमा परी घाइते भएको कार्यालयले जनाएको छ । रासस
प्रकाशित मिति: सोमबार, साउन १२, २०७७