काठमाडौं । साेमबारबाट मनसुनी प्रणाली थप सक्रिय हुने भएकाे छ ।
आजदेखि देशका केही स्थानमा भारी वर्षा हुने भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
आज अपरान्हदेखि मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने विभागले जनाएको हो ।
अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा नेपाल भित्रिने देखिएकाले आगामी १६ गतेसम्म वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ ।
मनसुन सक्रिय भई देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश ५, गण्डकी, कर्णाली, सुदूरपश्चिम तथा बागमती प्रदेशहरूका केही स्थानमा तथा प्रदेश १ र २ का थोरै स्थानमा भारी वर्षा भई यो क्रम १६ साउनसम्म रहने विभागले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
बुटवलको तिनाउ नदीको बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो रहेकाले कञ्चनखोला, तिनाउखोलाको तटीय क्षेत्र र आसपासका साना खोलामा बाढी आउने जोखिमतर्फ सचेत गराउँदै बिहान १० बजेसम्म सतर्क रहन भनिएको छ।
बाढी पहिरोको जोखिम रहेकोले सुरक्षित रहन र जोखिम क्षेत्रमा नबस्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।
यस वर्ष पहिरोका कारण सबैभन्दा बढी १ सय २८ जनाको ज्यान गएको छ । बाढी पहिरोमा परी ५१ जना बेपत्ता रहेको सरकारको तथ्यांक छ ।
प्रकाशित मिति: सोमबार, साउन १२, २०७७