काठमाडाैं । सर्वाेच्च अदालतकाे पूर्ण इजलासले रञ्जन कोइरालाले गरेकाे पत्नी गीता ढकालको हत्यालाई भवितव्य भन्न नमिल्ने ठहर गरेको छ ।
गएकाे असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीकाे संयुक्त इजलासले रञ्जनले पत्नी गीताको हत्या गर्ने मनसाय नराखेको भन्दै घटनालाई भवितव्यका रुपमा व्याख्या गरेको थियो ।
न्यायाधीशत्रय बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले आइतबार उक्त घटनालाई भवितव्य मान्न नसकिने निष्कर्ष निकाल्दै पुनरावलाेकन गर्न आदेश गरेको छ ।
यसअघि सर्वोच्चबाट शान्ति विकविरुद्ध नेपाल सरकार, नेपाल सरकारविरुद्ध जुगत सदासमेत, नेपाल सरकारविरुद्ध शेरबहादुर बस्नेत र केदार माझीविरुद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा प्रतिपादित सिद्धान्त प्रतिकूल कोइरालाको ज्यान मुद्दाको फैसला भएको पाइएको उल्लेख छ ।
कोइरालाले अदालतमा बयान गर्दा घटनामा आफ्नो संलग्नता स्वीकार नगरेको भए पनि उनले नै घटना घटाएको पाइएकाे इजलासकाे ठहर छ ।
'प्रस्तुत वारदात हेर्दा प्रतिवादी रञ्जनप्रसाद कोइरालाले घटना घटाउँदा र घटेपछि मृतकको शव लुकाउन गरेको क्रियाकलापबाट घटित वारदातलाई सामान्य अवस्थाको वारदात भन्न मिल्ने वा भवितव्य हो कि भनी मान्न मिल्ने अवस्था समेत देखिँदैन', इजलासको आदेशमा भनिएकाे छ ।
'प्रतिपादित सिद्धान्त एवम् साविक मुलुकी ऐन अदालती बन्दोवस्तको १८८ नम्बर र फौजदारी कसूर ऐन २०७४ को दफा १७ (क) बमोजिमको व्यवस्थासमेतलाई मध्यनजर गर्दै न्याय प्रशासन ऐन २०७३ को दफा ११ को उपदफा २ को खण्ड (ख) बमोजिम यस अदालतको मिति २०७६/०३/१५ को फैसला पुनरावलोकन गरी हेर्न अनुमति प्रदान गरिदिएको छ ।'
हेर्नुस् सर्वाेच्चकाे आदेशः


प्रकाशित मिति: आइतबार, साउन ११, २०७७