मन्थली । मन्थली नगरपालिका–९ पुरानागाउँका महेशकुमार श्रेष्ठलाई स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानुपर्ने भयो । ५ वर्षदेखि बाथरोगबाट पीडित उनी लकडाउनका कारण नियमित स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जान पाएका थिएनन् ।
लकडाउन अन्त्यको घोषणा भएपछि उनी काठमाडौँ जान सदरमुकाम मन्थली झरे । मन्थली त हिँडेर आए तर लकडाउन खुलेको भए पनि सार्वजनिक यातायातका साधन अझै जिल्ला बाहिर चलेका छैनन् । काठमाडौँ जाने साधन पाउन उनलाई गाह्रो भयो ।
स्वास्थ्य समस्याका कारण जसरी पनि काठमाडौँ जानपर्ने बाध्यतामा परेका उनले दिनभर काठमाडौँ जाने साधन खोजे तर कतै भेटेनन् । त्यो रात उनको मन्थलीमै बास भयो । भोलिपल्ट बिहानैदेखि काठमाडौँ जाने सवारीको खोजीमा लागे । दिनभरको प्रयासपछि बल्ल काठमाडौँ जाने निजी बोलेरो भेटियो । शरीरको दुखाइ र २ दिनको मन्थलीको गर्मीले गलेका उनी साँझपख प्रदेश ३१०२३ च २४२६ नम्बरको बोलेरो चढे ।
गाडी चढेको केही समयपछि भाडाको बारेमा कुरा भयो । ‘चालकले मन्थलीबाट काठमाडौँ गएको भाडा २५ सय रुपैयाँ भनेपछि म त छक्क परेंँ’, उनले भने, 'कुल ५ सय रुपैयाँ भाडा लाग्ने ठाउँको भाडा २ हजार ५ सय भनेपछि छक्क पर्नु पनि स्वभाविक नै हो ।'
भाडामा ५० प्रतिशतसम्म वृद्धि गर्न पाउने कुरा उनले सुनेका थिए । ५ गुना बढी भाडा लिएपछि उनले प्रतिवाद गरे । चालकले भाडा घट्ने कुरै गरेनन् । अन्तमा २ हजार रुपैँया भाडा तिरेर उनी रातको १२ बजे काठमाडौँं पुगे ।
लिखु तामाकोसी गाउँपालिका–२ दुरागाउँका विजय सुनुवार पनि एक दिनभरि लगाएर हिँडेर काठमाडौंँ जान गाउँबाट मन्थली आए । मन्थली बजारमा बाक्लै गुड्ने सुमोले टिकट नकाट्ने शर्त राखेर २ हजार ५ सयदेखि ३ हजारसम्म भाडा मागेपछि उनी पनि छक्क परे । गाडी भाडा सुनेर के गर्ने भन्ने दोधारमा परेका उनी अन्तिममा टिकट नकाटी २ हजार ५ सय भाडा तिरेर काठमाडौंँ गए ।
यी २ उदाहरण मात्र हुन् । अहिले असहज अवस्थाको मौका छोपेर सवारी साधनले मनलाग्दी भाडा असुल्दा दैनिक सयौंको सङ्ख्यामा यात्रु ठगिएका छन् । सर्वसाधारणको बाध्यताको फाइदा यातायात सञ्चालकले लिइरहेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामेश्वर पाण्डे बिरामी बोक्ने, शक्ति र पहुँचका भरमा सञ्चालन भएका र प्रशासनबाट पास लिएका केही सार्वजनिक सवारी साधनले बढी भाडा लिएको गुनासो आएको बताउँछन् । अहिलेसम्म बढी भाडा असुल्ने १५ भन्दाबढी निजी सवारीलाई कारवाही गरिएको उनले बताए ।
बढी भाडा लिएको गुनासो आएसँगै चेकजाँचमा कडाइ गरिएको उनले बताए । उनले चेकपोस्टमा रहेका प्रहरीले सोधखोज गर्दा आफूसँग लिएको भाडाका बारेमा सत्य बोल्न यात्रुहरुसँग आग्रह समेत गरे ।
रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बिरामी लैजाने र अन्य विभिन्न प्रयोजनमा काठमाडौँं जाने पास लिएका सार्वजनिक सवारीले बढी भाडा लिएको गुनासो आएसँगै त्यस्ता सवारीलाई दिइने पासमा थप कडाइ गरिएको बताइन् । उनले भनिन्, 'बढी भाडा असुलेको गुनासो आएपछि चोकजाँमा थप कडाइ गरी बढी भाडा लिने सार्वजनिक तथा निजी सवारी साधनलाई कारबाही गरिएको छ ।’ रासस
प्रकाशित मिति: आइतबार, साउन ११, २०७७