आधुनिक समाजले कल्पना पनि गर्न नसक्ने गम्भीर अपराधका दोषीलाई सजाय घटाउने फैसला गरेबापत मुलुकको सर्वोच्च अदालतको शाख यतिबेला निहुरिएको छ । योजनाबद्धरुपमा श्रीमतीको हत्या अनि हत्याको प्रमाण लुकाउन शरीर बध गरी टुक्राटुक्रा पार्ने अपराधी रञ्जन कोइरालाको सजाय घटाउने फैसलाले सर्वोच्च विवादको घेरामा तानिएको हो ।
अदालतप्रतिको जनविश्वासको पारो यसपटक यसकारण पनि फेदमा झरेको छ कि यस्तो गम्भीर फैसला स्वयं सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गरेका छन् । अदालत निमुखा जनताको आस्था र भरोसाको अन्तिम धरोहर हुन्छ । शक्ति र शानको दबदबा चल्ने आजको समयमा अन्यायको खेलमैदानमा फुटबलझैँ हुत्याइएकाहरु अदालतको ढोकामा पुगेर आशाको सास फेर्ने गर्छन् । जसको कोही हुँदैन, उसको भगवान् हुन्छ भन्ने भनाई तिनै इमानको भट्टीमा उत्तीर्ण भएका न्यायमूर्तिहरुले गर्ने न्याय निसाफलाई हेरेरै भनिएको होला ।
मूर्ति भगवानको मात्रै हुने गर्छ । धार्मिक आस्थामा विश्वास गर्नेहरुको बुझाइमा भगवानले कहिल्यै गल्ती गर्दैनन् । त्यही भएर न्यायाधीशहरुलाई न्यायमूर्ति भनिएको हो कि, न्यायाधीशहरुले पनि कहिल्यै गल्ती गर्दैनन् । यही विश्वासले हरेक निमुखा नागरिक आफूलाई अन्याय भयो भने पहाडसँग पनि कुहिनो ठोक्काउँछ । कारण हरेक लडाइँमा ममाथि अन्याय र विभेद भए पनि अदालतमा मूर्तिको रुपमा रहने न्यायाधीशले मलाई कदापि अन्याय गर्नेछैन भन्ने विश्वासको पहाड उसको अगाडि उभिएको हुन्छ । तर जब मूर्तिहरुबाट गल्ती मात्रै होइन षडयन्त्रपूर्ण तरिकाले गम्भीर अपराध हुन्छ, त्यसबेला हरेक नागरिकको अगाडि उभिएको विश्वासको पहाड तासको घरझैँ गर्ल्यामगुर्लुम ढल्छ ।
हत्यारा रन्जन कोइरालाबारे चोलेन्द्र शमशेर जबराले गरेको फैसलाले पनि नागरिकको न्यायालयप्रतिको विश्वासको दरिलो पर्खाल क्षणभरमै भत्काइदिएको छ । जबराको त्यो फैसलाले न्यायलयप्रतिको विश्वास मात्रै भत्काएको छैन, स्वयं न्यायालयको विवेक बन्धक बनाउँदै न्यायको घाँटी निमोठिएको छ । र मानिसहरुले टिप्पणी गरेका छन्, रञ्जन कोइरालाले एक अवला नारीको बीभत्स हत्या गरे भने चोलेन्द्रले हत्यारालाई छुट दिएर न्यायको हत्या ।
बीभत्स हत्याको आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका कोइरालालाई आधाभन्दा बढी सजाय घटाउँदै प्रधानन्यायाधीश जबरा र अर्का न्यायाधीश तेजबहादुर केसीको इजलासले रिहा गर्ने जुन फैसला गरेको छ, यस फैसलाले जनताको आस्थामा मात्रै प्रहार गरेको छैन, पवित्र भनिएका न्यायालयमा कसरी न्यायको कारोबार भइरहेको छ भन्ने कुराको पनि स्पष्ट संकेत गरेको छ । त्यो फैसलाले न्याय विवेकले होइन, विवेक बन्धक राखेर गरिने बार्गेनिङबाट तय हुन्छ भन्ने सन्देश दिइरहेको छ ।
दुनियाँलाई चित खुवाउने गरि चोलेन्द्र श्रीमानको चित्तमा लाग्यो– सर्वोच्चले जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने हो कि भन्ने चित्तमा लागेको हुँदा सजाय घटाउनु पर्यो र जेलमुक्त गर्नुपर्यो । यससँगै त्यो फैसलाको अर्को आशय छः आमाको मृत्युपश्चात नाबालक छोराहरूको हेरचाह, संरक्षण एवं शिक्षादीक्षा लगायतका कार्यहरू अभिभावक विहीनताको कारणले अनिश्चय र अन्योल हुन गई उनीहरूको हितमा समेत दूरगामी प्रभाव पर्न जाने भएकाले पनि निजलाई सजाय मिनाह गर्दै रिहा गर्नुपर्यो । स्मरण रहोस् रञ्जनले प्राणभन्दा प्रिय आमाको हत्या गरी मातृसुखबाट बन्देज गर्दा १४ र ११ वर्ष रहेका उनका छोराहरु यतिबेला २३ र २० वर्षका बालिग भइसकेका छन् ।
चोलेन्द्र शमशेर र उनको संयुक्त बेन्चले गरेको फैसलाले खाटा बसिसकेको ९ वर्षअघि भएको गीता ढकाल हत्याकाण्डको घाउलाई फेरि एकपटक बल्झाइदिएको छ । त्यो बीभत्स हत्याकाण्ड यो समाजले फेरि एकपटक स्मरण गरेको छ । योजनाबद्ध रुपमा गीता ढकालकाे हत्याका लागि चीनबाट सुटुक्क नेपाल आउने मात्रै होइन, अग्रिम पेट्राेल किनेर गाडीमा जगेडा गर्ने लगायतका सबै कार्यहरुले त्यो हत्याकाण्ड चोलेन्द्र तथा उनको टिमले स्वीकार गरेको जस्तो कुनै भवितव्यले भएको थिएन । त्यो त रञ्जन कोइरालाले सोचीसम्झी योजनबद्ध रुपमा गरेको षडयन्त्रको उपज थियो ।
जतिबेला नाबालक छोराहरुलाई अविभावकत्वको आवश्यकता थियो, त्यतिबेला मातृवात्सल्यबाट विमुख गर्दै जन्म दिने आमाको बीभत्स हत्या गर्ने त्यस्तो अपराधी पिताको अविभावकत्व आज बालिग भइसकेका छोराहरुका लागि आवश्यक थियो कि थिएन भन्ने कुरा कोइराला रिहा हुँदाका दृश्यहरुले उत्तर दिएकै छन् । बाँकी यो हत्या भवितव्य नभई एक योजनाबद्ध रुपमा रचिएको षडयन्त्रपूर्ण हत्याकाण्ड थियो भन्ने कुरा यसअघिका सबै प्रमाणहरुले बोलेकै थिए । र त्यही प्रमाण र तथ्यहरुमै टेकेर जिल्ला र उच्च अदालतका न्यायमूर्तिरुले विवेकपूर्ण फैसला गर्दै सर्वस्वसहित जन्मकैदको निर्णय सुनाएकै थिए ।
जस्तोसुकै तर्क गरे पनि हत्यारासँग साँठगाँठ गरी गरिएको यो फैसलाबाट न जनता सहमत छन् न कानुनका अभ्यासकर्ताहरु नै । फैसला सर्वोच्चको बेन्चबाट भएको भए पनि न्याय अन्याय के भयो त्यो आज सबै सचेत नागरिकले प्रष्टसँग बुझेकै छन् ।
प्रधानन्यायाधीश आफैँले गरेको यस्तो फैसलाले उनीमाथि विगतमा उठेका सबै प्रश्न मात्रै होइन, न्यायालयमाथि समेत उठेका सयौँ प्रश्नको एकमुष्ट जवाफ दिएको छ । न्यायालय र न्यायमूर्तिबारे टिप्पणी गरिरहँदा अदालतको मानहानि पो हुने हो कि भनी मनको कुनै कुनामा लागिरहँदा सिंगो मनले चाहिँ भन्छ– जब न्यायालय समेतले न्यायको अवहेलना मात्रै होइन, हत्या गर्न अघि सरिसक्यो । यस्तो बेला मानहानिको त्रास होइन, बरु यो जघन्य अपराधका विरुद्ध बोलिएन÷लेखिएन भने पो आफ्नै आत्माको अपमान होला । न्यायमूर्ति भनिएकाहरुले स्वयं न्यायको हत्या गर्ने योजनाको नेतृत्व गर्छन् भने त्यसका विरुद्ध बोल्नैपर्छ । बरु त्यसको बदलामा हरेक दिन अवहेलानाका मुद्दा किन खेप्नु नपरोस् । त्यसैले न्यायमूर्ती नै मूर्तिबाट बाहिर निस्किएर जग्गा दलाल जस्तो बार्गेनिङमा उत्रिएर न्याय किनबेचमा लागेपछि त्यस्ता प्रवृत्तिको भण्डाफोर सारा समाजले गर्नुपर्छ ।
यो अन्यायका विरुद्ध आज नबोले कहिले बोल्ने ? हामीले नबोले कसले बोल्ने ? त्यसैले सजिसजाउ अदालतका शालीन बेन्चबाट हुने यस्ता साजिसहरुको खुलेर विरोध गर्नुको अर्को के विकल्प छ यो समाजसँग ? यसलाई पनि नियतिको खेल भन्दै पुर्पुरोमा हात राखेर चुपचाप यो समाजले सह्यो भने स्वयं यो समाज यस्तो अपराध र त्यो अपराधको भागिदार हुने छ ।
अर्को कुरा सर्वत्र ठक्कर खाइरहेको आमनागरिकले आशा र भरोसा गरेको एक मात्र स्थान न्यायालयलाई नै यसरी बद्नाम गराइन्छ भने हामीले कहाँ गएर कसको भरोसा गर्ने ? फोहोरमा पसेर सफा गरी फेरि त्यही पोखरीको पानी पिउन योग्य बनाउनुको विकल्प नेपाली जनतासँग अर्को के छ र ?
हुन त यस्तो विवादित फैसला गर्न उद्यत हुने प्रधानन्यायाधीसको पृष्ठभूमि नै कहाँ निष्कलंक थियो र ? बार्गेनिङको वैशाखी टेकेर न्याय क्षेत्रमा आफ्नो प्रवेश सम्भव बनाएका चोलेन्द्रका विगतका धेरैजसो नजिरहरु प्रायः विवादको घेरामा रहने गरेका छन् । आर्थिक लेनदेनका लागि यो समाजले सधैँ चोरऔँला तेस्र्याएका न्यायाधीशका रुपमा उनको परिचय यसअघि नै स्थापित जस्तै छ । विशेष अदालतमा हुँदा प्रायः सबै भ्रष्टाचारका आरोपीलाई सफाइ दिने काममा महाराथ हासिल गरेका जबराको यात्रा त्यहीँ रोकिने अवस्था बनेको पनि देश दुनियाँलाई जगजाहेर भएकै विषय हो ।
स्मरणीय के छ भने उनले सफाइ दिने निर्णय गरेका सबै मुद्दाका आरोपीहरु तत्कालीन सर्वोच्च अदालत आइपुग्दा धेरैजसो दोषी ठहर भई जेल चलान भएका थिए । आर्थिक लेनदेन गरी उनले त्यस्ता फैसला गर्ने गरेको भन्दै सर्वोच्च प्रवेशका बेला उनीमाथि उजुरी पनि नपरेको कहाँ हो र ? तर आर्थिक लेनदेनले धेरै कुरा सम्भव हुने यो देशमा उनले आफ्नो सर्वोच्चको यात्रा मात्रै तय गरेनन्, समय अगावै त्यसको नेतृत्व पनि हत्याउन सफल भए ।
हुन त यो देशको नीति निर्माताको रोजाइमा इमानको स्कुलबाट होइन बेइमानीको बाटोबाट आएकाहरु पर्ने गर्छन् । किनकि इमानदारले विवेक प्रयोग गर्छ । नीति निर्णय गर्नेहरुको बोरा भर्दैन । यहाँ विवेक प्रयोग गर्नेहरु होइन विवेक बन्धक राखेर बोरा टक्र्याउनेहरु नै रजगजमा पुग्छन् । अनि रजगजमा रजाइँ गर्न रकम राखेकाहरुले त्यसको असुल उपर यस्तै न्यायको घाँटी निमोठेर त गर्ने हो नि । यहाँ जनतालाई न न्याय छ न निसाफ । उनीहरुलाई छ त फगत सास्ती ।
भनिन्छ, गधा नुहाएर कहिल्यै गाई बन्दैन । विवादित पृष्ठभूमि बोकेरै सर्वोच्चको नेतृत्वमा आएका चोलेन्द्रको हकमा धेरैले सोचेका थिए, विगतका विवाद र त्रुटिहरुलाई छोड्दै अब आफ्नो मात्रै होइन, अदालतको समेत सम्मान बढाउने काम यिनबाट होला । तर मान्छेहरुको त्यो आशामा उनले यति छिट्टै चिसो पानी फ्याँकिदिए कि, अहिलेसम्म न्यायालयले नगुमाएको जनविश्वास एकै झट्कामा गुम्यो । न्यायाधीशका विरुद्ध सडकमा मानिसहरु धेरै पछि ओर्लिएका छन् । त्यो पनि एक आममानिसमाथि गरिएको अन्यायका विरुद्ध ।
यो सबै चोलेन्द्र श्रीमानको चित्तमा लागेकै कारण भयो । चित्त शुद्धिमा उनको चित्त लाग्ला भनेर मानिसहरुले सोचेको सबै झुटो सावित भयो । र फेरि पनि चोलेन्द्र श्रीमानको चित्तमा यस्तो कुरा लाग्यो, जो न्यायमूर्तिहरुको चित्तमा लाग्नु नै हुँदैनथ्यो । जसले एक जना चोलेन्द्र जबराको मात्रै होइन, उनका माध्यमद्वारा सिंगो न्यायालय र समग्र न्यायमूर्तिप्रति जनतामा रहेको आस्थामा ठेस लाग्यो ।
अब अन्तिममा गुम्नै लागेको त्यो विश्वास अनि ढल्नै लागेको त्यो आस्थालाई फेरि कायम राख्न पहिलो कुरा त स्वयं चोलेन्द्र शमशेर जबराले निकास दिनुपर्छ । नभए जनताको अभिमत लिएर नीति निर्माणको तहमा रहेकाहरुले जनताको भावनाको कदर गर्दै न्यायालयको शुद्धीकरणका लागि एकपटक निर्णय लिनुपर्ने बेला आएको छ । किनकि यो गम्भीर अपराधलाई बेवास्ता गर्ने हो भने कार्यकालभरि उनको चित्तमा बारम्बार यस्तो कुरा लाग्ने छ र कैयौं गीता ढकालहरुमाथि जानाजान अन्याय हुने छ र निरन्तर न्यायको घाँटी निमोठिने छ ।
प्रकाशित मिति: शनिबार, साउन १०, २०७७